
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गतेभित्र विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिएर प्रदेश मन्त्रिपरिषद विस्तार गर्ने उनले बताएका छन् ।
गठबन्धन दलमा रहेका अन्य दल विश्वासको मत दिन तयार देखिए पनि माओवादी केन्द्रले भने विश्वासको मत लिनुअघि मन्त्रालय भागबण्डाको टुंगो लाग्नुपर्ने जनाएको छ । मुख्यमन्त्री शाह माओवादीलाई सहमत गराउन छलफलमा छन् ।
विश्वासको मत लिन नसकेपछि यसअघिका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको सरकार गत माघ २६ गते ढलेको थियो । ठूलो दलको हैसियतले मुख्यमन्त्री बनेका कांग्रेसका कमलबहादुर शाहले फागुन २६ गतेभित्र विश्वासको मत लिइसक्नु पर्नेछ।
शाहलाई विश्वासको मत दिन गठबन्धनमा रहेका कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी तयार छन् । यसअघि एमालेका मुख्यमन्त्रीलाई विश्वासको मत नदिएको नागरिक उन्मुक्ति यस पटक कांग्रेसलाई विश्वासको मत दिने बताएको छ । यसअघि विनाविभागीय मन्त्री रहिसकेका माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टले शीर्ष तहमा शक्ति बाँडफाँटको विषय टुंग्याएर मात्रै सरकारमा सहभागी हुने पक्षमा निर्णय हुने बताए ।
प्याकेजमै सहमति गरेर विश्वासको मत दिने र पार्टी सरकारमा पनि सहभागी हुने उनले बताए । महत्त्वपूर्ण मन्त्रालयसहित सरकारमा सहभागी हुने र साढे दुई वर्षपछि सुदूरपश्चिम सरकारको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने उनको भनाइ छ ।