०६ साउन २०८३, बुधबार

परिवार पाल्न खोला किनारकै बास

फागुन १७, २०७९
परिवार पाल्न खोला किनारकै बास

जाजरकोटको कुशे गाउँपालिका–५ का रवीन्द्र गन्धर्व सरुगाडको किनारमा छाप्रो निर्माण गरेर बस्न थालेको तीन महिना भयो । उनी घरपरिवार, छोेराछोरीको खर्च टार्नका लागि सरुखोलाको किनारमा छाप्रो बनाएर बसेका हुन् ।  

रोजगारीको कुनै माध्यम नभएपछि गन्धर्व खोलामा दिनरात माछा मारेर आएको रकमबाट दैनिकी चलाउँदै आएका छन् । उनले भने, “खोलामा पहिलेजस्तो माछा पाइँदैन, माछा मार्न खोला किनारमै बास बस्नेगरेको छु । माछा मारेर भार्ममा बिक्री गर्दैआएको छु । यसकै आम्दानीले घरखर्च चलाउने गरेको छु । म र श्रीमती माछा माछौँ, छोराले बिक्री गर्छ ।”

खोला किनारमा बस्नु आफ्नो रहर नभइ बाध्यता भएको उनले बताए । “नौ जनाको परिवार माछा बिक्री गरेरै पाल्ने गरेको छु । खेतीपाती गर्न जग्गा–जमिन छैन”, उनले भने ।  

गन्धर्वजस्तै कालीबहादुर बादीले पनि मादल बनाउने कामबाट परिवार पाल्न नसक्ने अवस्था आएपछि छोरालाई भारत पठाइ आफू माछा मार्न सरुगाडकै किनारमा पुगेको बताए । अहिलेसम्म नागरिकतासमेत नभएको यो परिवारसित एक टुक्रा जमिन छैन । वर्षौँदेखि माछा मार्दै र मादल बनाउँदै जीवनयापन गरिरहेका यहाँका बादी समुदायलाई दैनिक खानेकै पिरलो छ ।  

माछा मारेरै जीविकोपार्जन गर्दैआएका श्याम बादी स्थानीय, प्रदेश र सङ्घीय सरकारसित जग्गा उपलब्ध गराउन माग गरे । गाउँपालिकामा जग्गाका लागि धेरै पटक पहल गरे पनि सुनुवाइ नभएको बादी समुदायको भनाइ छ । जनता आवास कार्यक्रमबाट केहीले घर बनाए पनि केहीले आफ्नो जग्गा नहुँदा घर बनाउन सकेका छैनन । “जग्गा नहुँदा घर बनाउन सकिएन”, स्थानीय प्रमिला बादीले भनिन् । रासस

salt training

कमेन्ट गर्नुहोस्