२१ असार २०८३, आइतबार

मकैमा अमेरिकी फौजी कीराको आक्रमण

फागुन १७, २०७९
मकैमा अमेरिकी फौजी कीराको आक्रमण

झापाका केही स्थानमा लगाइएको मकै बालीमा अमेरिकी फौजी कीरा देखिएको छ । झापाको बाह्रदशी, अर्जुनधारा र भद्रपुरका केही स्थानमा अमेरिकी फौजी कीरा देखिएको हो ।  

केही ठाउँमा अमेरिकी फौजी कीरा देखिएको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत गणेश शिवाकोटीले जानकारी दिए । “ठूलो क्षति गर्नेगरी प्रकोपका रूपमा देखिएको छैन”, उनले भने । फौजी कीरा देखिएको ठाउँमा आवश्यक औषधोपचार गरिएको उनले बताए । वर्षापछि घाम लाग्दा फौजी कीराको जीवनचक्र बढी सक्रिय हुने भएकाले मकैखेती गर्ने कृषकलाई सचेत रहन कृषि ज्ञान केन्द्रले आग्रहसमेत गरेको छ । 

अमेरिकी फौजी कीरा मकै बालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने रात्रिचर स्वभावको कीरा हो । भर्खर निस्किएको लार्भाले पातको हरियो भाग कोत्रेर खाइदिन्छ । यो कीराले क्षति गरेको बिरुवा बढ्दै जाँदा पातमा स–साना प्वाल देखिन्छन् । 

“कलिलो अवस्थाको गुभोभित्र बसेर लार्भाले मकैको गुभो खाने गर्छ”, शिवाकोटीले भने, “लार्भाले खाँदैगर्दा पातहरूमा प्रशस्त आलो दिसा देख्न सकिन्छ, मकै बढ्दै गएपछि यसले धानचमर, जुँगा तथा घोगामा समेत नोक्सानी गर्छ ।”

कृषकलाई ४५ लाख अनुदान

प्रदेश नं १ सरकारले मकैखेती प्रवद्र्धनका लागि झापामा रु ४५ लाख अनुदान दिएको छ । मकैको उत्पादन बढाउने उद्देश्यले जिल्लामा तीन सय हेक्टरका लागि प्रतिहेक्टर रु १५ हजारका दरले अनुदान आएको शिवाकोटीले जानकारी दिए । 

जिल्लामा अनुदानका लागि मागभन्दा धेरै कृषकले आवेदन दिएका छन् । कृषकले सात सय हेक्टरमा खेती गरेको भन्दै अनुदानका लागि आवेदन दिएको कार्यालयले जनाएको छ । आवेदनका आधारमा स्थलगत अनुगमन भइरहेको छ । मकैखेती प्रवर्धन अन्तर्गत सरकारले मान्यता दिएका बीउ प्रयोग गरी खेती गरेका सूचीकृत कृषि फार्म, कृषि समूह, कृषकले अनुदान पाउने छन् । 

सरकारले उत्पादन बढाउने उद्देश्यले हाइब्रिड जातका मकैलाई प्राथमिकता दिएको छ । झापामा अहिले कतै मकै रोपिसकिएको छ भने कतै रोप्ने अवस्थामा छ । छिटपुटरूपमा उत्पादित मकै किसानले बिक्रीका लागि बजारमा ल्याउन थालेका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्