
प्रदेश १ प्रदेशसभा आसपासमा धर्ना, जुलुस तथा सभा सम्मेलनजस्ता गतिविधि गर्न अनिश्चितकालका लागि रोक लगाइएको छ ।
प्रदेशको नामकरण आजै गर्ने तयारी भएपछि प्रदेशसभा आसपासको क्षेत्रमा धर्ना, जुलुस तथा प्रदर्शनका लागि निषेध गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले निषेधाज्ञासम्बन्धी सूचना जारी गरेका छन् ।
'सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवं सामान्य तुल्याई राख्न विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र माननीय मुख्यमन्त्रीज्यूको निवासवरपर मिति २०७९–११–१७ गते दिउँसो ३:०० बजेदेखि अर्को आदेश नभएसम्म कुनै किसिमका सभा, जुलस, भेला, र्याली, धर्नाजस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३क) बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,' सूचनामा भनिएको छ, 'यो आदेश उल्लंघन गरी उल्लेखित कार्यहरू गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।'
प्रदेश १ को नाम कोशी राख्ने तयारी छ । त्यसका लागि एमाले र कांग्रेसले संयुक्त रूपमा प्रस्ताव दर्ता गरिसकेका छन् ।