
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज नेपालगञ्ज विमानस्थलको स्थलगत अनुगमन गरेका छन् ।
उनले निर्माणाधीन नयाँ टर्मिनल भवनको विषयमा जानकारी लिँदै टर्मिनल भवन समयमा नै सक्न निर्देशन दिए ।
सन् २०१७ मा निर्माण भएको गुरुयोजनाका आधारमा नेपालगञ्जमा सुविधा सम्पन्न टर्मिनल भवन निर्माण थालिएको छ ।
३ अर्ब लागतमा निर्माण हुन लागेको भवनमा १४ टिकट काउन्टर, ७२ विभिन्न पसल, ३ भिजिट कक्ष लगायत रहने विमानस्थल परियोजनाले जनाएको छ । ३७ महिनाभित्रमा काम सक्ने लक्ष्य राखिएको टर्मिनल भवनमा अत्याधुनिक उपकरण र प्रविधिको प्रयोग हुने बताइएको छ ।
अनुगमनपछि नेपालगञ्ज विमानस्थलको स्तरोन्नति, विकास तथा विस्तारसम्बन्धी अन्तक्र्रियामा मन्त्री किरातीले नयाँ निर्माण हुन लागेको टर्मिनलको काम १० प्रतिशत पूरा भएको उल्लेख गर्दै छिटो काम गर्ने नाममा गुणस्तरलाई ध्यान दिनसमेत आग्रह गरे । उनले पर्यटनको आधार भौतिक पूर्वाधार, जहाज र सडक भएको उल्लेख गर्दै पर्यटन प्रवद्र्धनबाट आर्थिक विकास हुनसक्ने बताए ।
बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका सदस्य डा. धवलशम्शेर राणाले नेपालगञ्जबाट दिल्ली, देहरादुन र चण्डीगढ उडान भए यसले क्षेत्रको विकासमा कायापलट हुने विश्वास व्यक्त गरे । उनले अहिले पनि जग्गा अधिग्रहणको रकम स्थानीयले नपाएको गुनासो आएको उल्लेख गर्दै मानसरोवरको दृश्यावलोकन गरेर पर्यटकलाई आकर्षित गर्न सकिने बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनीयर प्रदीप अधिकारीले नयाँ बन्न लागेको टर्मिनल भवनबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुने जानकारी दिँदै विगतका तुलनामा हवाई उडानमा परिवर्तन भएको बताए । सो अवसरमा गुरुयोजनाको विस्तृत विवरण समेत प्रस्तुत गरिएकोे थियो ।
प्रतिनिधिसभा सदस्य डा. राणा, नेपालगञ्ज उपमहानगरपाकिाका प्रमुख प्रशान्त विष्ट लगायतले बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीलाई ज्ञापनपत्र बुझाउँदै नेपालगञ्जलाई धार्मिक पर्यटनको रूपमा विकास गर्न ध्यानाकर्षण गराएका थिए । उनीहरूले देशको सबैभन्दा बढी क्यासिनो तारे होटल उपमहानगरमा सञ्चालनमा रहेको उल्लेख गर्दै यसलाई भारतीय शहरसँग जोड्न हवाई मार्ग आवश्यक भएको बताए ।
हाल बुद्ध एअरले अनुमति पाएमा नेपालगञ्ज–दिल्ली, नेपालगञ्ज–चण्डीगढ र नेपालगञ्ज–देहरादुन हवाई उडान गर्न तयार भएको उल्लेख गर्दै डा. राणाले नेपाल पक्षबाट उक्त उडानको माग गरिदिन आग्रह गरेका छन् ।