
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीबाट लेखिएको ‘नइ र मेरो शताब्दी’ नामक निबन्ध कृतिको लोकार्पण गरेका छन् । सो कृतिका सम्पादक रहेका जोशीका जेठा छोरा अणुराज जोशीले ‘नइ र मेरो शताब्दी’ नामक कृति आफ्ना बुबाको अन्तिम रचना भएको बताए ।
वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त समारोहमा काइँलाले प्राडा. वीणा पौड्यालबाट सम्पादित ‘नरेन्द्रराज प्रसाईको अन्वेषणमा ललितत्रिपुरसुन्दरी’ नामक समालोचनात्मक ग्रन्थ र नरेन्द्रराज प्रसाईबाट लिखित ‘मोदनाथ प्रश्रित ः भुइँदेखि शिखरसम्म’ नामक जीवनी ग्रन्थको पनि लोकार्पण गरे । तीन वटै कृति नइ प्रकाशनद्वारा प्रकाशित भएका हुन् ।
वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित उक्त समारोहमा डा. मोदनाथ प्रश्रित, प्राडा. वीणा पौड्याल, अणुराज जोशी, वानीरा फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरी र सदस्यसचिव नरेन्द्रराज प्रसाईले धारणा राखेका थिए ।
वैरागी काइँलाबाट वानीरा फाउन्डेसन भवनको प्राङ्गणमा रहेको नेपाली साहित्यका विश्व नारी रत्न डा वानीरा गिरीको पूर्ण कदको शालिकमा माल्यार्पण गरिएपछि कार्यक्रम आरम्भ भएको सदस्य सचिव नरेन्द्रराज प्रसाईले बताए ।