
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा विद्यमान भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य गर्नु आजको आवश्यकता रहेको बताएका छन्।
आज भक्तपुरको गठ्ठाघरस्थित सिभिएम सेकेण्डरी स्कुलको २५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा उनले देशलाई अब सुशासन र विकासतर्फ अगाडि लैजानुपर्ने बताए।
सरकारले शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने औल्याउँदै उनले शिक्षाले विवेक जागृत हुने ज्ञान दिन सक्नुपर्ने बताए।
शिक्षा क्षेत्रले असल, इमानदार र कर्तव्यनिष्ठ विद्यार्थी उत्पादन गर्नुपर्ने उनको भनाइ थियो।
पूर्वप्रधानमन्त्री नेपालले समाजमा बस्ने सबैमा एक अर्कामा सम्मान र आदरको भावना विकास गर्नुपर्ने बताए।
सुसंस्कृति, समृद्धि र प्रगतिको दिशामा लम्कनुपर्ने उनले भनाइ राखे।
'हामी सबैसँग मित्रता चाहन्छौँ, हाम्रो भूमिलाई पनि कसैले समस्यमा नपारिदिऊन् भन्ने चाहन्छौँ, म नेपाली हुँ भन्ने भावना सबैमा हुनुपर्छ, नेपाली पहिचान, भाषा, संस्कृति, इतिहास र असल परम्पराको संरक्षण गर्नुपर्छ', उनले भने ।
कार्यक्रममा प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठले अबको शिक्षा विश्वमा प्रतिस्पर्धा गर्न सक्ने खालको हुनुपर्ने बताए।