
नेपाल पत्रकार महासंघसँगको सहकार्यमा बैंक तथा वित्तीय संस्था परिसंघ र नेपाल बिजनेस इन्टिस्च्युटले पत्रकारबीच राष्ट्रब्यापी लेख लेखन प्रतियोगीता शुरु गरेका छन् । वर्तमान अवस्थामा देखिएका आर्थिक समस्याको समाधान र यसको रोडम्यापबारे राष्ट्रियस्तरमा बहस पैरवी गर्दै समाधानको निचोड निकाल्न प्रतियोगीता आयोजना गरिएको आयोजकले जनाएको छ ।
वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र विषयमा २५ सय शब्द नबढ्नेगरी देशभरका पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकार र स्तम्भकारले लेख पठाउन सक्ने नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले जानकारी दिए ।
उत्कृष्ट १५ लेखका लेखकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट पुरस्कार वितरण गरिने बताइएको छ । प्रमाणपत्रका साथै प्रथम, द्वितिय, तृतीय, चौथो र पाँचौ पुरस्कारका रुपमा क्रमशः रु. १ लाख, रु.७५ हजार, रु. ५० हजार, रु. २५ हजार र रु. १५ हजारका दरले सम्मान प्रदान गरिने छ । साथै उत्कृष्ट १० लेखलाई प्रति लेखबापत रु. १० हजारका दरले नगद तथा प्रमाणपत्र मार्फत प्रोत्साहन रकम उपलब्ध गराइने आयोजकले जनाएको छ ।
नेपाल सरकारसहितको सहभागितामा २०८० बैशाख पहिलो हप्ता काठमाडौंमा आयोजना हुने नेपाल बिजनेस समिटको पुर्वसन्ध्यामा जर्नालिष्ट फेलोसिप कार्यक्रम आयोजना गरिएको नेपाल बिजनेस इन्स्टिच्युटका अध्यक्ष विशाल गैरले जानकारी दिए । उनका अनुसार अर्थतन्त्रका प्रमुख चुनौती, अवसर र भावी रोडम्यापबारे पत्रकारकोे सिर्जनशील क्षमताबाट प्राप्त लेखलाई प्रोत्साहन गरी राष्ट्रिय अर्थतन्त्रको सबलीकरण गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो ।
नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कुनै पनि सञ्चारमाध्यममा कार्यरत पत्रकारले यो प्रतियोगितामा भाग लिन सक्ने बताए । उनका अनुसार सहभागी पत्रकारले आफु कार्यरत सञ्चार माध्यमको पुष्टि हुने पत्रकार परिचयपत्र, नियुक्तीपत्र वा मिडिया हाउसको पत्र (कुनै एक) सहित अन्यत्र प्रकाशित नभएको खोजमुलक र तथ्यपरक लेख अनलाइनमार्फत २०७९ चैत्र १३ गतेभित्र nepalbusinesssummit.com/article-competition मा आवेदन दिन सकिने उनले बताए ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का महानिर्देशक डा. गोपाल तिवारीले लेखको मौलिकता, तथ्यपरकता र लेखले औल्याएका भावी मार्गदर्शनलाई छनौटको आधार बनाइने जानकारी दिए । अनलाइन माध्यमबाट प्राप्त लेखलाई पाँच सदस्यीय छनौट समितिले विभिन्न मापदण्डका आधारमा छनौट गर्नेछ । छनौट भएका उत्कृष्ट लेखलाई नेपाल बिजनेस समिटको उदघाटनसत्रमा पुरस्कृत गरिने जनाइएको छ ।