

माओवादी परित्याग गरेर नयाँ शक्ति नेपाल पार्टी गठन गर्दासम्म डा. बाबुराम भट्टराईमा धेरै उत्साह थियो । तर पार्टी घोषणाको एक वर्षमै उनी साह्रै कमजोर भइसकेका छन् । यो स्थितिमा उनीसँग सीमित विकल्प मात्रै छन् । जस्तोः थप कमजोर हुँदै जाने देखिए आफ्ना सहयोगीहरूलाई राजनीतिक विकल्प खोज्न लगाई आफूचाहिँ बौद्धिक/प्राज्ञिक कार्यमा लाग्ने गरी राजनीतिबाट संन्यास लिन सक्छन् । अथवा, राजनीतिमा सक्रिय नै रहने दृढ निश्चय गरे भने नयाँ धु्रवीकरण वा एकताका नाममा नयाँ विकल्पको खोजीमा लाग्न सक्छन् ।
विकल्प–१
नयाँशक्तिकै पुन:गठन : भट्टराई खासमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकताका पक्षधर थिए । झा, शर्मा, पौडेललगायतका नेताहरूले यसका लागि प्रयास पनि गरे । तर, पार्टीमा गैरमाओवादी, गैरमधेसी नेताहरू भट्टराईमाथि यति हावी भए कि एकताले स्वरूप नै लिन पाएन । एकता प्रयासका पक्षधरहरू नयाँशक्तिबाट टाढिइसकेकाले अब फोरमसँग तत्काल एकता हुने सम्भावना छैन । फोरमका एक नेताका भनाइमा, फेरि फोरमसँग प्रयास थालियो भने पनि पहिले तय गरिएजस्तो भट्टराईले संयोजकको जिम्मेवारी पाउने स्थिति छैन । किनभने, अन्तिम समयमा पुगेको एकता प्रक्रिया भट्टराईकै निर्णयहीनताका कारण भाँडिएकाले फोरमभित्र उनीप्रति तीव्र आक्रोश छ । त्यो आक्रोश तेस्रो चरणको निर्वाचनका लागि फोरमले आफ्नो चुनावचिह्न नदिने निर्णय गरेबाटै बुझ्न सकिन्छ ।
यो स्थितिमा भट्टराईको तत्कालको विकल्प नयाँशक्तिलाई नै पुन:गठन गर्ने हो, जसबाट पार्टी पंक्तिमा देखिएको निराशा चिर्न सकियोस् । नेता दाहालका भनाइमा, पार्टी संगठनको पुन:गठनका लागि नयाँशक्तिले तीन योजना बनाएको छ । एक, वैकल्पिक राजनीतिक मञ्च निर्माण गर्ने । यस अन्तर्गत सम्भव भए वैकल्पिक राजनीतिको वकालत गरेका साझा विवेकशील पार्टीसँग एकता गर्ने, नभए साझा किसिमको मोर्चा बनाएर अघि बढ्ने योजना छ । दोस्रो, विचार मिल्नेहरूसँग सम्बन्ध–सहकार्य विस्तार गरेर संगठन निर्माणमा जोड दिने । र तेस्रो, प्रदेश–प्रतिनिधिसभाको निर्वाचन भएको तीन महिना (०७५ वैशाख)भित्र महाधिवेशन गर्ने ।
यस्तो कार्ययोजना बनाइए पनि पार्टी घोषणाताका जस्तो उत्साह र आकर्षण थियो, त्यो फेरि पुन:जागृत गर्न सक्ने स्थिति छैन । खासमा यतिबेला भट्टराईसँग संगठन निर्माणमा पोख्त नेताहरू छैनन् ।
विकल्प–२
साझा विवेकशील पार्टीसँग एकता : रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्ज्वल थापा नेतृत्वको विवेकशील पार्टीबीच एकता भयो र साझा विवेकशील दल अस्तित्वमा आयो, ११ साउनमा । मिश्र र थापा सहसंयोजक चुनिए । तर, पार्टीको संयोजक को हुने भन्नेचाहिँ सार्वजनिक गरिएन । यसको कारण थियो, नयाँशक्तिसँग एकताको सम्भावना र एकता हुँदा भट्टराईलाई संयोजकको जिम्मेवारी दिने मिश्र–थापाको चाहना । दाहाल के दाबी गर्छन् भने दुई दलबीच एकता हुँदा भट्टराई सहज रूपमा त्यसको संयोजक बन्नेछन् ।
फोरमसँग एकता हुन नदिने नयाँशक्तिभित्रको समूहको जोड साझा विवेकशील पार्टीसँग एकता गर्नुपर्छ भन्ने छ । तर, सोचेजस्तो एकता सहजचाहिँ छैन । त्यसका लागि नयाँशक्तिले साझा विवेकशीलका अगुवाहरूमा रहेको मध्यमवर्गीय सहरी अहंकार त्याग्नुपर्ने सर्त राखेको छ भने साझा विवेकशीलका अगुवाहरूले पूर्वमाओवादीसहितको नयाँशक्तिसँग एकता हुन नसक्ने बताइरहेका छन् । उनीहरू पूर्वमाओवादीहरू बाहिरिएपछि मात्र भट्टराईसहितको नयाँशक्तिसँग एकता गर्न चाहन्छन् ।
गंगानारायण श्रेष्ठ, देवेन्द्र पराजुलीलगायतको पूर्वमाओवादीको एउटा पंक्ति अहिले पनि नयाँशक्तिमै छ । उनीहरूलाई छाडेर अन्य गैरमाओवादीका साथ साझा विवेकशीलसँग एकता गर्ने पक्षमा भट्टराई छैनन् । वैकल्पिक राजनीतिलाई बलियो बनाउने नाममा सशस्त्र विद्रोहकालदेखि आफूलाई साथ दिँदै आएका नेता–कार्यकर्ताबिना साझा विवेकशीलसँग एकता गर्दा आफू थप शक्तिहीन हुने उनले बुझेका छन् । त्यही भएर हुनुपर्छ, एकताका लागि औपचारिक कुराकानीसमेत दुई पक्षबीच भएको छैन ।
विकल्प–३
माओवादी केन्द्रमा फिर्ता : साझा विवेकशील पार्टीसँग एकता पनि हुन नसक्ने, राष्ट्रिय राजनीतिमा हैसियत स्थापित हुने गरी नयाँशक्तिलाई पुन:जागृत गर्न पनि नसक्ने तर राजनीतिमा चाहिँ सक्रिय रहिरहने हो भने भट्टराईको तेस्रो र अन्तिम विकल्प माओवादी केन्द्रमा फर्कने हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत भट्टराईलाई फिर्ता गराउने कसरत थालेका छन् । जस्तो : प्रोस्टेटको शल्यक्रिया गराएका भट्टराईलाई भक्तपुरस्थित नागरिक अस्पतालमा पुगेर प्रचण्डले २४ साउनमा भेटे । अस्पतालबाट फिर्ता भएपछि टोखास्थित छोरी मानुषीको घरमा स्वास्थ्यलाभ गरिरहेका भट्टराईलाई २८ साउनमा पनि भेटे र माओवादीमा फर्कन आग्रह गरे ।
व्यक्तिगत भेटमार्फत मात्र होइन, प्रचण्डले पार्टीको बैठकबाट समेत एकताको नीति पारित गराइसकेका छन् । पूर्वमाओवादीहरूबीच एकताका लागि पूर्वमाओवादी समूहबीच एकताको पहल गर्ने नीति साउन पहिलो साता भएको माओवादी केन्द्रको सचिवालयको विस्तारित बैठकले पारित गरिसकेको छ । शर्माका भनाइमा पार्टी बैठकले पारित गरेको नीति जानकारी गराउँदै प्रचण्डले भट्टराईलाई सँगै मिलेर जान आग्रहसमेत गरेका छन् । नयाँशक्तिका नेता दाहाल पनि दुवै भेटमा प्रचण्डले माओवादीमा विभाजन हुँदा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षताजस्ता ‘जनयुद्ध’का एजेन्डा धरापमा परेको बताउँदै उपलब्धि जोगाउन मिलेर जाने प्रस्ताव गरेको बताउँछन् ।
नयाँशक्ति छाडेका झा, पौडेललगायतको समूहले पनि माओवादी केन्द्रसँग एकतामार्फत नयाँ बाटो तय गर्न भट्टराईलाई आग्रह गरिरहेको छ । माओवादी केन्द्रको निर्णय, प्रचण्डको तारन्तारको भेट आदिका कारण भट्टराई आफैँ पनि निकै ठूलो दबाबमा छन् । प्रचण्डको पटक–पटकको भेट र एकता प्रयासका कारण नयाँशक्तिको नेतृत्व पंक्तिभित्र ‘कतै भट्टराई माओवादी केन्द्रमा नै फर्कंदै त छैनन् ?’ भन्ने संशय पैदा हुन थालिसकेको छ । यसबाट कति हैरान छन् भने नेतृत्व पंक्तिमा सीमित भाइबर ग्रुपमार्फत उनले भारतीय योजना अनुसार माओवादी केन्द्रबाट नयाँशक्तिलाई कमजोर बनाउने नीति अन्तर्गत एकताको प्रस्ताव आएको भन्दै नयाँशक्तिलाई पुन:जागृत गरेर आफ्नै पालामा भरपर्दाे र प्रतिस्पर्धी वैकल्पिक शक्ति बनाएरै छाड्ने बताइरहेका छन् ।
दाहालका भनाइमा बरू भट्टराई एक्लै नयाँशक्ति चलाएर बस्ने मुडमा छन्, माओवादी केन्द्रमा फर्कने सम्भावना एक प्रतिशत पनि छैन । माओवादी केन्द्र विघटन गरेमा चाहिँ नयाँ ढंगले एकता प्रक्रिया सुरु हुन सक्ने दाहाल बताउँछन् । तर, भट्टराईलाई भित्र्याउनकै लागि न प्रचण्डले पार्टी विघटन गर्नेछन्, न त्यस्तो प्रस्ताव ल्याए भने पार्टी पंक्तिले स्वीकार गर्ने सम्भावना नै छ ।
वास्तवमा भट्टराईका लागि माओवादी केन्द्रमा फर्कने माहोल अनुकूल छँदै छैन । एमाओवादी छोडेपछि प्रचण्डले मोहन वैद्य समूहका रामबहादुर थापालगायतलाई पार्टीमा भित्र्याएका छन् । ०६५ मा एमाओवादी परित्याग गरेका मातृका यादव पनि फर्केका छन् । थापा र यादव दुवै भट्टराईका उग्र आलोचक मानिन्छन् । थापा–यादवको फिर्तीपछि पार्टीभित्र प्रचण्ड थप शक्तिशाली भएका छन् । यस्तो स्थितिमा भट्टराई फर्कने सम्भावना क्षीण छ ।
भट्टराई माओवादी केन्द्रमा फर्कने सम्भावना त्यतिबेला मात्र रहन्छ, जब पार्टीमा प्रचण्डको पकड कमजोर बन्दै जान्छ । त्यो स्थिति अहिले छैन । बरू, प्रचण्ड थप शक्तिशाली बनेका छन् । माओवादी केन्द्रमा फर्कंदा भट्टराईको स्थिति हिजोभन्दा झन् कमजोर हुने अवस्था छ । किनभने, पहिलेका पुराना सहयोगीहरूको साथ उनले पाउने छैनन् । संकटका बेला पार्टी छाडेर गएको र चुनावमा लज्जास्पद हार भएपछि फर्केको आरोप सुन्नुपर्नेछ । एकताका लागि प्रचण्डले आफूपछिको वरीयतामा राखे पनि पार्टी पंक्तिबाट पहिलेजस्तो प्रतिष्ठा, आदर र इज्जत नपाउन सक्छन् । यिनै व्यावहारिक कारण पनि भट्टराई आफैँ माओवादी केन्द्रमा फर्कने मुडमा देखिँदैनन् ।
सैद्धान्तिक दृष्टिले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र भट्टराई नेतृत्वको नयाँशक्तिमा त्यति ठूलो अन्तर भेटिन्न । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, संविधानलाई हेर्ने आलोचनात्मक दृष्टिकोण, संघीय स्वरूपलगायतका विषयमा दुवै पार्टीबीच समान मत छ (हेर्नूस्, वामपन्थी बाटोमै बाबुराम, नेपाल, १२ असार ०७३) । तर, असजिलो लागे पनि परिस्थितिले भट्टराईलाई माओवादी केन्द्रमा फर्कन बाध्य पार्ने दाबी गर्छन् माओवादी केन्द्रका एक नेता । भन्छन्, “शेरबहादुर देउवा र वामदेव गौतम इच्छावश कांग्रेस र एमालेमा फर्केका होइनन् । झन् कमजोर हुने भएपछि उनीहरू मूलपार्टीमा फर्केका थिए । भट्टराई त झन् कमजोर बन्दै छन्, त्यसैले माओवादी केन्द्रमा फर्कनुबाहेक अर्काे विकल्प छैन ।”
विकल्प ४
बौद्धिक/प्राज्ञिक भूमिका : ०७१ असोजमा गृहजिल्ला गोरखाको खोप्लाङ–४, बेलवास पुगेका भट्टराईले सक्रिय राजनीति छाडेपछि आफू बाख्रा पालनमा लाग्ने बताएका थिए । छोरी मानुषी अध्यक्ष रहेको दीपेश राजु स्मृति सहकारीको उद्घाटन गर्दै उनले यस्तो खुलासा गरेका थिए । कृषिकर्ममा धेरथोर रुचि राखे पनि उनको अत्यधिक रुचि भने बौद्धिक/प्राज्ञिक कर्ममै छ । राजनीतिक रूपमा सफल हुने देखेनन् भने त्यसरी नै राजनीतिक जीवन त्यागेको घोषणा उनले गरिदिन पनि सक्छन्, जसरी उनले अकस्मात् एमाओवादी परित्यागको घोषणा गरेका थिए ।
फेरि, त्यसका लागि उनीसँग थुपै्र सन्दर्भ सामग्री पनि छन् । यस्तो कर्ममा सक्रिय हुन आर्थिक संकट पनि उनलाई छैन । राजनीतिक जीवन त्यागेको स्थितिमा उनका लागि सबैभन्दा उपयुक्त र प्रतिष्ठित विकल्प यही हो ।
वास्तवमा यतिबेला भट्टराई पुस्तक लेख्न चाहन्छन् । उनले लेख्न चाहेको पहिलो विषय हो, वाद–विचारको इतिहास र दोस्रोचाहिँ नेपालको इतिहास । नेपालको इतिहासमा भने उनी पहिलो मानव रामापिथेकस उत्पत्ति हुँदा नेपालको स्थिति कस्तो थियो र मानव बसोवास कसरी सुरु भयो भन्ने विन्दुसम्म पुग्न चाहन्छन् । यसका लागि सन्दर्भसामग्री जुटाइरहेका छन् उनी ।
सत्ता राजनीतिमा सक्रिय हुँदा पनि स्थापित मात्रै होइन, चर्चा नै कमाएका पात्र हुन् भट्टराई । त्यस्तै चर्चा बौद्धिक/प्राज्ञिक भूमिकामा समेत कमाउन सक्छन् । तर, यो भूमिका उनका लागि राजनीतिमा जस्तो भने हुने छैन । किनभने, यहाँ त्यो चमक–दमक, शक्ति र भीडभाड खोजेर पनि पाइँदैन । उनले कुन विकल्प रोज्छन्, त्यसले नै उनको राजनीतिक भविष्य तय गर्नेछ ।
नेपाल साप्ताहिकमा सीताराम बरालले लेखेको आवरण कथाबाट