फागुन ३, २०७९
भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सह-सचिव तथा सडक विभागका तत्कालीन महानिर्देशक आनन्दप्रसाद खनालले गैरकानूनी तबरले आर्जन गरेको सम्पत्ति सरकारीकरण गर्ने काम शुरू भएको छ । उनीसहित श्रीमती पद्मा खनाल, छोर...
काठमाडाैं | फागुन २४, २०७९
नेपालमा वायुसेवा कम्पनी त छन्, तर बजारमा उत्पादन भएर आउने नयाँ पाइलटलाई रोजगारी दिने कम्पनी छैनन् ।
निजी वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरले जे जति पाइलटलाई रोजगारी दिन सकेका छन्, त्यतिमै सीमित छ पाइलटको नेपाली बजार । त्यो भन्दा बढी न अरू निजी कम्पनीको योगदान छ, न त सरकारी वायुसेवाको नै ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान ठप्पप्रायः छ । निगमले न थप विमान किन्न सकेको छ, न त भएकैलाई उडाउन सकेको छ । आन्तरिक उडानमा भएका ५ वटा विमान कोरोना महामारीपछि त्रिभुवन विमानस्थलमै घाम तापेर बसेका छन् । २ वटा ट्वीनअटर विमान पनि कहिले उड्ने, कहिले थन्किने गरेका छन् ।
अन्तर्राष्ट्रिय उडानमा ४ वटा मात्रै विमान लिएर वर्षौंदेखि बसिरहेको निगमले विमान थप्न नसक्दा पाइलटका लागि नयाँ रोजगारी सिर्जना हुन सकेको छैन । निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय उडान गर्ने एक मात्र नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पनि ४ वटा विमानबाट मात्र सेवा दिँदै आएको छ ।
नेपालमा वायुयान थोरै हुँदा र वायुसेवा कम्पनीले विमान थपेर बजार विस्तार गर्न नसक्दा भएकै पाइलटको रोजगारी सुनिश्चित हुन सकेको छैन भने थपले अवसर पाउन पनि मुश्किल छ ।
नेपालमा रोजगारी नभएकै कारण पाइलट अध्ययन गर्न विदेशिनेमध्ये आधाभन्दा बढी उतै हराउने गरेका छन् । पछिल्लो ६ वर्षमा नेपालबाट पाइलट अध्ययन गर्न जानेको संख्या ६०९ जना पुगेको छ, यसमध्ये अध्ययन सकेर फर्कनेको संख्या जम्मा २०५ मात्रै छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालबाट सन् २०१७ देखि हालसम्ममा ४८४ पुरुष र १२५ महिला पाइलट अध्ययनका लागि बाहिरिएका छन् । यसमध्ये फिक्स विङ्ग्स विमानका १९५ र हेलिकप्टरका १४ जना पाइलट मात्र अध्ययन सकेर फर्किएका छन् ।
नागरिक उड्डयन प्राधिकरणबाट इजाजतप्राप्त कमर्सियल पाइलट लाइसेन्स (सीपीएल) प्राप्त गर्नेको संख्या जम्मा ६५७ मात्रै छ, यसमध्ये जम्मा १७५ जना सीपीएल पाइलटसँग मात्रै मान्यताप्राप्त इजाजत पत्र छ । यो बाहेक एयर ट्रान्सपोर्ट पाइलट लाइसेन्स (एटीपीएल)को मान्यताप्राप्त १८४ र हेलिकप्टरका ८ जना मात्रै पाइलट छन् ।
नेपालबाट बाहिर अध्ययन गर्न जाने पाइलटले अनिवार्य रूपमा प्राधिकरणबाट ‘नो अब्जेक्सन’ लेटर लिनुपर्छ । नेपालमा उडान अनुमति पाउन प्राधिकरणले तोकेकै संस्थाबाट तालिम लिएर आउनुपर्ने व्यवस्था छ ।
प्राधिकरणले दक्षिण अफ्रिका, फिलिपिन्स, अमेरिका, क्यानडा, माल्टा, न्युजिल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना, थाइल्यान्डसहितका मुलुकमा जान अनुमति दिएको छ । यी देशमध्ये नेपालीहरूको रोजाइमा फिलिपिन्स, साउथ अफ्रिका र अमेरिका पर्छन् । नेपालबाट पाइलट अध्ययन गर्न जाँदा कम्तीमा ५० लाख रुपैयाँ खर्च हुने सम्बन्धित देशमा अध्ययन गरेर फर्किएका पाइलटहरूको भनाइ छ ।
नेपालमा रोजगारीको अवसर नहुँदा बाहिर अध्ययन गर्न गएका नेपालीले सकभर उतै अवसर खोज्छन् भने केही मात्रै फर्कन्छन् । विदेशमा पाइलट अध्ययन गर्न गएकाहरूले न्यूनतम् २ सय घण्टा उडानसहितको तालिम लिएकै हुनुपर्छ ।
कतिपय नेपालीहरूले तोकिएको अवधिमा कोर्स पूरा गर्न नसकेर समय थप गर्ने गरेका पनि छन् । कोरानापछि विभिन्न देशका वायुसेवा कम्पनीमा काम गरिरहेका सिनियर पाइलट नै फर्किनुपर्ने बाध्यताका आयो । त्यसपछि अवसर कम भएका कारण पनि करोड खर्च गरेर अध्ययन गरेका पाइलट समेत बेरोजगार बनेका छन् ।
नेपालबाट बुद्ध एयरले नै पाइलटलाई अवसर दिएर बाहिर पठाउने गरेको थियो । ५ वर्ष जति पठाएपछि कोभिड शुरू भयो । कोभिडअगाडि बुद्ध एयरले मात्रै १२/१५ जना पाइलटलाई विदेशी वायुसेवामा पठाएको थियो । अहिले यस्तो अवसर ठप्प भएको बुद्ध एयरका अपरेसन निर्देशक सुवर्ण खरेलले बताए ।
उनले भने, ‘केही वर्षअगाडि पाइलट अध्ययनका लागि एकैपटक धेरैजना गए । नेपालमा अवसर पाउन छाडेपछि अहिले अध्ययन गर्न पनि कम जाने र फर्किएर आएकामध्ये थोरैले मात्रै अवसर पाउने गरेका छन् ।’
तालिम लिएर फर्किएपछि पनि पाइलटले थप खर्च नगरे अवसर पाउँदैनन् । बाहिरबाट न्यूनतम् तालिम लिएर आएपछि फेरि सम्बन्धित वायुसेवाले दिने विभिन्न प्रकारका तालिमका लागि खर्च गर्नुपर्ने हुन्छ ।
यस्तो तालिमको शुल्क विमानको प्रकृति र कम्पनीअनुसार फरक–फरक हुन्छ । स्वदेशमा त्यस्तो अवसर पाए पनि ४/५ वर्ष मेहनत गरेर २५ देखि ५० लाख थप खर्च गर्दा मासिक ४/५ लाख रुपैयाँ कमाउन पनि गाह्रो पर्ने गरेको पाइलटहरू बताउँछन् ।
पाइलट अभाव हुँदा आफैं खर्च गरेर अध्ययन र तालिम दिएर रोजगारी दिने कम्पनीहरूमा अवसर पाउन अहिले उल्टै खर्च गर्नुपर्ने बाध्यता रहेको पाइलट अध्ययन सकेर फर्किएकाहरू बताउँछन् ।
पाइलटले ६/६ महिनामा लाइसेन्स रि–भ्यालिडेसन गर्नुपर्ने, २ वर्षमा टाइप रेटिङ गर्नुपर्ने र ५ वर्षसम्म विमान नउडाएको अवस्थामा पुनः तालिम लिनुपर्ने हुन्छ । नियमितरूपमा लिइरहनुपर्ने तालिमका कारण पनि पाइलट अध्ययन र त्यसपछि पाइने अवसर महंगो भएको हो ।
विमान कम्पनीले निरन्तर रूपमा प्रगति गरेको अवस्थामा थप पाइलटले पनि अवसर पाइरहने हुन्छन् । एउटा विमान थप हुँदा कम्तीमा ६ जना पाइलटले अवसर पाउँछन् । तर, अहिले न नेपाली वायुसेवा कम्पनीले उल्लेख्य प्रगति गर्न सकेका छन्, न त विमान नै थपिएका छन् ।
अहिले बुद्ध एयरले दुईवटा बीचक्राफ्ट विमान विदेशी कम्पनीलाई बेचेको छ भने गुण एयरलाइन्सको सातैवटा विमान उडेका छैनन्, जसका कारण भएकै पाइलट बेरोजगार छन् ।
यी दुई वायुसेवाका मात्रै अहिले करीब ५५ जना पाइलट फुर्सदमा छन् । भएकै पाइलट फुर्सदमा हुँदा नयाँले अवसर पाउने अवस्था शून्यप्रायः छ ।
अध्ययन सकेर फर्किएको २ वर्ष भयो, अझै बेरोजगार !
पाइलट अध्ययनका लागि साउथ अफ्रिकामा दुई वर्ष बिताउँदा झापाकी अनुष्का अधिकारीको ६५ लाख रुपैयाँ सकियो ।
तालिम सकेर नेपाल फर्किएको पनि २ वर्ष हुनै लागिसक्यो, तर उनले विमान उडाउने अवसर पाएकी छैनन् ।
उड्डयन प्राधिकरणबाट सीपीएलको इजाजत पत्र पाएकी अधिकारी एकपछि अर्को वायुसेवा कम्पनी चहार्दै हिँडिन्, तर पाइलट चाहियो भनेर उनलाई कुनै पनि वायुसेवाले अफर गरेका छैनन् ।
उनले अफर पाइहालिन् भने पनि अझै तालिमका नाममा कम्तीमा २५/३० लाख रुपैयाँ गर्नैपर्ने बाध्यता छ ।
एकतिर विदेश पढ्न जाँदा भएको खर्च र अर्कातिर लामो समय बेरोजगार बसेर पनि थप खर्च गर्नुपर्ने बाध्यता उनलाई छ । यसले पनि पाइलट अध्ययन खर्चिलो भएको देखाउँछ । अधिकारीजस्तै सीपीएल पाइलटको इजाजत पाएका अरू कैयन पाइलट यस्तै तनाव र अन्योलमा छन् ।
सीपीएल पास गरेपछि निजी क्षेत्रमा रोजगारी पाउन कम्तीमा २५ लाख खर्च गर्नुपर्ने एक पाइलटले बताए । ४५ दिनको तालिम अनिवार्य हुने र सो तालिम अवधिभरको खर्च सम्बन्धित पाइलटकै हुने उनको भनाइ छ ।
तालिम सकेर आएपछि र प्राधिकरणले औपचारिक स्वीकृति दिएपछि मात्रै पाइलटले तलब पाउँछन् । एउटा पाइलटले विदेशमा गएर लिने तालिम, तालिम अवधिभरको खर्च र नेपाल आएपछि सीपीएल पास गरेर लिइने तालिमका लागि १ करोड रुपैयाँभन्दा बढी खर्च हुने बुद्ध एयरका अपरेसन निर्देशक खरेलले बताए ।
अहिले बजारमा आएका पाइलटभन्दा बढी नयाँ अवसरको खोजी गर्दै अध्ययन गर्न गएका छन् । तीमध्ये कसैको अध्ययन पूरा नहुने, कसैले उतै काम गरेर लागत उठाएर मात्र आउने र कसैको पढाइको अवधि नै लम्बिने गरेकाले नेपाल फर्किनेको संख्या कम देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।
उनका अनुसार पाइलट पढ्नु आफैंमा खर्चिलो विषय हो । अध्ययन र कम्तीमा २ सय घण्टा उडानको तालिम सकेर फर्किएपछि प्राधिकरणले लिने परीक्षा उत्तीर्ण गरेर मात्र बजारमा जान पाइन्छ ।
प्राधिकरणले लिने सीपीएल परीक्षा पास गर्दैमा जागिर पाइने ग्यारेन्टी हुन्न । बजारमा डिमान्ड र सम्बन्धित वायु सेवाले स्वीकार गर्नुपर्छ ।
बाहिरबाट पाइलट पढेर आएका तर नेपालमा अवसर नपाएका थुप्रै पाइलट रहेको पनि प्राधिकरणले जानकारी दिएको छ ।
नेपालीहरूले पाइलट अध्ययन गर्न सक्ने गरी अनुमतिप्राप्त संस्थाहरू :
भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सह-सचिव तथा सडक विभागका तत्कालीन महानिर्देशक आनन्दप्रसाद खनालले गैरकानूनी तबरले आर्जन गरेको सम्पत्ति सरकारीकरण गर्ने काम शुरू भएको छ । उनीसहित श्रीमती पद्मा खनाल, छोर...
उपराष्ट्रपति पदका लागि उम्मेदवार बनेकी जनमत पार्टीकी ममता झा साझा प्रकाशनको भवन निर्माण अनियमिततामा मुछिएको लामो समय बिते पनि अझै अनुसन्धान पूरा भएर कारबाही हुन सकेको छैन । उनी साझा प्रकाशनको ...
तत्कालीन मुख्यमन्त्री तथा आर्थिक मामिलामन्त्री शंकर पोखरेलले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा सिद्धबाबाको वैकल्पिक मार्ग बनाउन झुम्सा–चौकीभन्ज्याङ–चरङ्गे सडकमा बजेट विनियोजन गरे । पहिलो वर्ष १० करोड रुपैय...
गत फागुन २८ गते सिरुवा कन्स्ट्रक्सन प्रालिलाई तीन फरक-फरक ठेक्काका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्यो । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय कालीगण्डकी करिडोर (बेनी–जोमसोम&nd...
काठमाडौंको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सरकारले अहिलेसम्म ३४ करोड रुपैयाँ खर्च गरिसकेको छ । तीन चरणको कामका लागि भ्याटबाहेक ४९ करोड ९४ लाख ९६ हजार रुपैयाँको ठेक्का लगाएको राष्ट्रिय खे...
केन्द्रीय कारागार सुन्धाराको भद्र बन्दीगृहमा चौकीदार, मूलनाइके तथा तिनीहरूसँग निकट एक समूहले अवैध आर्थिक साम्राज्य खडा गरेको पाइएको छ । कैदीबन्दीका तर्फबाट आएर गृह मन्त्रालयमा अलपत्र अवस्थामा रहेको एक पत्रले य...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...