
कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेललाई मन, वचन र कर्मले नै कांग्रेसबाट अलग हुन आग्रह गरेका छन् ।
राजनीतिक जीवनको उत्तरार्धमा पौडेलले राष्ट्रको सर्वोच्च पद पाएकोमा बधाई तथा शुभकामना दिँदै थापाले यसको गरिमालाई थप उच्च बनाउन पार्टीको नभई सिंगो देशको राष्ट्रपति बन्न सुझाएका हुन् ।
‘तपाईं हिजो राष्ट्रपतिको उम्मेदवार हुँदासम्म नेपाली कांग्रेसको सदस्य हुनुहुन्थ्यो, नेता हुनुहुन्थ्यो, एउटा राजनीतिक विचारसँग आबद्ध हुनुहुन्थ्यो, स्वाभाविक रूपमा त्यसैप्रति तपाईंको लगाव र मेहनत थियो । तर, अब तपाईं मन, वचन र कर्मले योसँग अलग हुनुपर्छ, न नेपाली कांग्रेसप्रति, न त हिजो तपाईंलाई मतदान गर्नेहरूप्रति कसैसँग पनि अतिरिक्त अनुराग रहनु हुँदैन,’ थापाले भनेका छन्, ‘अब तपाईं हाम्रो दलको मात्र होइन, सबैको अभिभावक हो । सँगै दलीय राजनीति, दलभित्रको राजनीति, दलहरूका बीचमा र दलभित्र हुने शक्ति संघर्ष वा अभ्यासबाट मुक्त हुने राजनीतिक चरित्र र क्षमता प्रदर्शन गर्नुहुनेछ, कुनै पनि क्षणमा जानेर वा नजानेर कुनै चाख वा रुचि राख्नु हुनेछैन भन्ने अपेक्षा छ ।’
पार्टीले पनि मेरो सदस्य, नेता भनेर राष्ट्रपति संस्थाको दुरुपयोग गर्ने चेष्टा गर्न नहुने थापाको भनाइ छ । थापाले पौडेललाई राजाजस्तो राष्ट्रपति होइन, नागरिक राष्ट्राध्यक्षको रूपमा देख्न चाहेको बताएका छन् ।
संविधानको परिधिमा रहेर प्रधानमन्त्रीलाई सल्लाह र सुझाव दिन सक्ने भए पनि राष्ट्रपतिले प्रधानमन्त्रीका अधिकारमाथि कहिल्यै हस्तक्षेप गर्न नहुने थापाको भनाइ छ ।
‘संविधानको यो परिधिभित्र रहेर राष्ट्राध्यक्षका रूपमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई सल्लाह, सुझाव र आफ्नो दृष्टिकोण दिन सक्छन् । तर, प्रधानमन्त्रीको अधिकारमाथि कहिल्यै हस्तक्षेप गर्दैनन्,’ थापाले भनेका छन्, ‘यो व्यवस्थाका निम्ति यति लामो संघर्ष गरेको व्यक्ति नै यो व्यवस्थाको सर्वोच्च पदमा पुग्दा यो संस्थालाई सम्मानित, मर्यादित र गरिमामय बनाउनुहुनेछ र संविधानको परिकल्पना अनुरूपको राजनीतिक संस्कार र व्यवहार अवलम्बन गर्नुहुनेछ भन्ने अपेक्षा छ ।’
सवारीका नाममा तामझाम गर्ने र सडकमा घण्टौं जाम गराउने अभ्यासबाट मुक्त हुन पनि पौडेललाई थापाले आग्रह गरेका छन् ।
‘विशिष्ट व्यक्तिको सवारी सुरक्षा दिने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौंसम्म हिँडडुल गर्न नदिने जुन परम्परा र अभ्यास छ यो तामझामपूर्ण शैलीले संस्थाप्रति नै नकारात्मक धारणा विकास हुँदै गएको छ,’ थापाले भनेका छन्, ‘तपाईंले यस्तो गर्दिनँ भन्नुभएको छ, सकारात्मक छ । त्यसैले राष्ट्राध्यक्षको नाममा विगतमा जस्तो अनावश्यक तडक–भडक गर्ने होइन, सरल र सादगी जीवनशैली अनुसरण गरी नागरिक राष्ट्राध्यक्षको रूपमा आफूलाई राख्नुहुनेछ भन्ने अपेक्षा छ ।’
राष्ट्रपति संस्थालाई कति सम्मानित र मर्यादित बनाउने भन्ने कुरामा सरकारको पनि महत्त्वपूर्ण भूमिका रहेको भन्दै नयाँ थालनीको शुरूआत गर्न पनि उनले आग्रह गरेका छन् ।