
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिवन नगरपालिकाका वडाध्यक्ष शम्भुप्रसाद मैनालीसहित ३ जनाउपर भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
हरिवन नगरपालिका वडा नम्बर १० नयाँरोड बजारअन्तर्गत पूर्वपश्चिम राजमार्गसँग जोडिएको जग्गा बकसपत्र लिखत पारित गर्दा जग्गाको मूल्य न्यूनतम मूल्यांकन पुस्तिकामा उल्लेख भएको न्यूनतम मूल्यभन्दा कम राखी रजिस्ट्रेसन पास गराई राजस्व हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ।
त्यसरी रजिस्ट्रेशन पारित गराउँदा ९ लाख ३६ हजार रुपैयाँ राजश्व हिनामिना भएको अभियोगपत्रमा उल्लेख छ।
त्यसैगरी अख्तियारले प्रतिवादी गौरी कुमारीले कित्ता नम्बर ३५१ को जग्गा पूर्वपश्चिम राजमार्गसँग जोडिएको थाहा हुँदाहुँदै उक्त कित्ता नम्बरको जग्गालाई खेतीयोग्य बाटो नभएको भनी हरिवन-१० बाट घरबाटो प्रमाणित सिफारिस पत्र लिएर सो पत्रबमोजिम पूर्वपश्चिम राजमार्गसँग जोडिएको जग्गाको बाटो नभएको भनी न्यूनतम मूल्यभन्दा कम थैली रकम राखी हीरा कुमारी श्रेष्ठलाई बकसपत्रको लिखत पारित गरिदिएकाले ती दुवैविरुद्ध पनि मुद्दा दायर गरेको छ।
दुवै जनाविरुद्ध ९ लाख ३६ हजार बिगो कायम गरी मुद्दा दायर भएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जनाएका छन्।