
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आङ्गिक क्याम्पसतर्फ करीब १ लाख ६३ हजार ८२ विद्यार्थी मतदाता रहेका छन् ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले एउटा क्याम्पसबाहेक सबै आङ्गिक क्याम्पसको स्ववियु निर्वाचनमा सहभागी हुने विद्यार्थी संख्या प्राप्त भएको बताए । उनका अनुसार उपत्यकाको त्रिचन्द्र क्याम्पसबाहेक ६१ आङ्गिक क्याम्पसको स्ववियु निर्वाचनमा सहभागी हुने मतदाता संख्या प्राप्त भएको छ ।
उनले त्रिचन्द्र क्याम्पसमा अझै निर्वाचन प्रक्रिया शुरु नभएकाले मतदाता संख्या यकिन नभएको बताए ।
उपत्यकाका २१ क्याम्पसमा ६६ हजार ६४६ र उपत्यका बाहिरका ४० क्याम्पसमा ९६ हजार ४३६ विद्यार्थी स्ववियु निर्वाचनमा मतदाता रहेका छन् । निर्देशक अधिकारीले सबैभन्दा धेरै विद्यार्थी पोखराको पृथ्वीनारायण (पीएन) बहुमुखी क्याम्पसमा रहेको बताए । पीएन क्याम्पसमा १० हजार ८७० विद्यार्थी स्ववियु निर्वाचनमा सहभागी हुने जनाइएको छ ।
पीएनपछि ठाकुरराम बहुमुखी क्याम्पसमा १० हजार २६२ तथा बुटवलको बुटवल बहुमुखी क्याम्पसमा ७ हजार १०९ विद्यार्थी सहभागी हुँदैछन् । उपत्यका बाहिर सबभन्दा कम विद्यार्थी मतदाता चितवन इन्जिनीयरिङ क्याम्पस चितवनमा ७१ छन् ।