२१ जेठ २०८३, बिहीबार
उद्यम

काभ्रेबाट कर्णाली आएर डेरी व्यवसायमा जमेका जयकृष्ण र माधव

फागुन २७, २०७९
काभ्रेबाट कर्णाली आएर डेरी व्यवसायमा जमेका जयकृष्ण र माधव

२०७४ असोजमा सपरिवार रारा घुम्न आएका थिए, काभ्रेको पाँचखालका जयकृष्ण सापकोटा र माधव धिताल । कर्णाली राजमार्ग हुँदै रारा जाँदा फर्किंदा उनीहरू सुर्खेत बास बसे ।

त्यतिबेला सुर्खेत प्रदेशको राजधानी बन्ने क्रममै थियो । अर्थात् राजधानी बन्ने निश्चितजस्तै थियो । काभे्र पाँचखालमा ३२ वर्षदेखि डेरी सञ्चालन गर्दै आएका यी २ युवाले कर्णालीलाई नयाँ गन्तव्य बनाउने सोच बनाए ।

पाँचखालबाट दैनिक २० हजार लिटर दूधबाट ४० हजार दूध, दहीको प्याकेट बनाएर काठमाडौं पठाउँछन्, ‘अर्पण ब्राण्ड’का नामबाट । जयकृष्ण र माधव काठमाडौं पुगेर पुनः सुर्खेत फर्किए ।

‘यहाँ डेरीको अवस्था, दूध संकलन, बजार, लगानी लगायतका सबै पक्षबारे अध्ययन गर्दै १५ दिन बितायौं,’ जयकृष्ण भन्छन्, ‘वीरेन्द्रनगरमा व्यावसायिक रूपमा डेरी सञ्चालन भएका थिएनन्, लेबलिङ, प्याकेजिङ गरी गुणस्तर परीक्षण गर्ने कुनै डेरीले दूध बेच्थेनन्, सबै मापदण्ड पूरा गरेर अत्याधुनिक प्रविधिको उद्योग सञ्चालन गर्ने टुंगोमा पुग्यौं ।’ त्यसपछि उनीहरूले काठमाडौं फर्किएर सुर्खेत डेरी उद्योग प्रालि दर्ता गरे ।

२०७४ फागुनदेखि जयकृष्ण र माधव संयुक्त लगानीमा वीरेन्द्रनगर औद्योगिक क्षेत्रको २ रोपनी जग्गामा उद्योग स्थापनाको तयारीमा जुटे । कम्पनी खोल्नदेखि, भवन बनाउन, मशिन औजार खरिद जडान, गाडी लगायतमा १७ करोड खर्च भइसकेको छ । २३ महिनाको तयारीपछि २०७७ वैशाखदेखि सुर्खेत डेरी उद्योगले ‘रारा ब्राण्ड’का नामबाट दुग्धजन्य पदार्थको उत्पादन, बिक्री वितरण थालेको हो ।

रारा ताल घुम्न आउँदा उद्योग खोल्ने सोचमा पुगेको, रारा ताल नेपालकै प्रमुख गन्तव्य भएको र रारा सबैको जनजिब्रोमा बसेकाले यसको थप प्रवद्र्धनका लागि उत्पादनको नाम नै ‘रारा’ दिने निर्णयमा पुगेको जयकृष्ण बताउँछन् ।

डेरी उद्योगको भौतिक संरचना तयार भयो तर सुर्खेतमा दूध थिएन । शुरूमा दैनिक २० लिटर दूध संकलन हुन्थ्यो । किसानमा घरघरमा गएर दूध बेच्ने मानसिकता थियो । ‘शुरूआतमा काभ्रेबाट दूध ल्याएर उद्योग चलायौं, सुर्खेतमा दूध थिएन, उता (काभ्रेमा) कोभिडले दूध बिकेको थिएन,’ उनी भन्छन्, ‘आफ्नै ‘ट्यांकर थियो, १ वर्षसम्म काठमाडौंबाटै दूध ल्याएर डेरी चलाइयो, अहिले दूध संकलन केन्द्र पनि बढेका छन् ।’ हाल २५ केन्द्रबाट गरी ४०० लिटर दूध संकलन हुँदै आएको छ । दूधको गुणस्तरका आधारमा प्रतिलिटर ६०–१२० रुपैयाँसम्म किसानले पाउने गरेका छन् ।

दैलेखको गोगनपानीदेखि पश्चिम सुर्खेतको गुटु र उत्तर पूर्वमा पर्ने रानीबासदेखि गुमी जहरेसम्म दूध संकलन गर्ने गरिन्छ । सुर्खेतमा दूध उत्पादनमा कमी आए दैलेख र बर्दियाबाट समेत ढुवानी गर्ने गरिएको छ । ती केन्द्रबाट दैनिक ५ हजार लिटर संकलन गरिन्छ, जसमध्ये ३००० लिटर दूधबाट ५ हजार प्याकेट दूध, १ हजार लिटरबाट २ हजार प्याकेट मोही, १ हजार लिटर दूधबाट २ हजार प्याकेट दही बजारमा पठाउने गरिन्छ ।

उद्योगले ३६५ दिनमै दूध किन्ने वातावरण बनाएको छ । यहाँ बढी भएको दूध पाउडर बनाएर काठमाडौं पठाउने गरेको छ । डेरीले डिलरलाई ८४ र उपभोक्ताले प्रतिलिटर ९० रुपैयाँमा दूध पाउँछन् । सरकारले बढाएको मूल्यमा दूध बेच्ने डेरीको तयारी छ ।

null

उद्योगले प्रत्येक दिन लेबलिङ, गे्रडिङ, गुणस्तर जाँच गरेर प्याकेटमा उत्पादन मिति राखेर बजार पठाउने गर्दछ । ‘शहरको पैसा गाउँ जाने भनेकै दूधको पैसा हो, त्यो प्रत्यक्ष किसानको हातमा पुग्छ,’ जयकृष्ण भन्छन्, ‘पहिले घरघर लगेर बेच्नुपथ्र्यो, उपभोक्ताले चाहेको बेला पाउन गाह्रो थियो, अहिले बजारीकरणलाई ध्यान दिएका छौं ।’ लेबलिङ, प्याकेजिङजस्ता कुराहरू अहिले सुर्खेत डेरीबाटै अन्य डेरीले पनि सिक्दैछन् ।

सुर्खेत डेरीले वार्षिक सरदर १० करोड कारोबार गर्दै आएको छ । उद्योगका अनुसार ३ वर्षमा ३ करोड घाटा व्यहोरेको छ । विद्युत्को भोल्टेज लो हुँदा २०० केभीको जेनेरेटर जडान गरिएको छ । अधिकांश समय जेनेरेटर चलाउनुपर्ने बाध्यता छ । इन्धन खर्च, दूध ढुवानी खर्च लगायतका कारण खर्च बढेको बताइएको छ । उद्योगका दूध संकलन, बिक्री वितरण गर्ने ३ वटा ट्यांकर छन् । दैनिक २० हजार लिटर दूध उत्पादन गर्ने क्षमताको कारखाना छ तर अहिले ६ हजार लिटर मात्रै उत्पादन भइरहेको छ ।

दैनिक ३ हजार लिटर दूध खपत हुने गरेको छ । नाफामा लिनलाई दैनिक १० हजार लिटर बढी दुग्धजन्य पदार्थ उत्पादन गर्नुपर्छ । पाउडर प्लान्ट बनाउन सकिए सुर्खेतबाट पहाडी जिल्लामा धूलो दूध पठाउन सकिने जयकृष्णको भनाई छ ।

काभे्रको पाँचखालस्थित डेरी दाइ बालकृष्ण सापकोटाको जिम्मा लगाएर जयकृष्ण र माधव परिवारसहित सुर्खेतमा आएका हुन् । पारिवारिक जनशक्तिका अतिरिक्त डेरीमा ३५ जना तलबी कर्मचारी छन् । जयकृष्णको छोरी सुस्मिताले एकाउन्ट, ज्वाइँ अमित अधिकारीले मार्केटिङ हेर्दै आएका छन् । छोरा सुदिन आफ्नै रुचिअनुसार नयाँदिल्लीमा फूड साइन्स अन्तर्गत डेरी टेक्नोलोजी विषय पढ्दैछन् ।

कर्णालीमै लगानी र प्रविधिका हिसाबले ठूलो उद्योग सञ्चालन गरे पनि प्रदेश सरकारबाट उनीहरूले कुनै प्रोत्साहन पाएका छैनन् । ‘सबै आउनुहुन्छ, हेर्नुुहन्छ, दंग परेर जानुहुन्छ तर अनुदान मिलेको छैन,’ जयकृष्ण भन्छन्, ‘हामीलाई नगद अनुदान होइन, किसानको दूध बजारसम्म ल्याउने व्यवस्था मिलाइदिए पुग्छ, डेरीको व्यावसायिकीकरणका लागि नीति नियम बनाइदिए पुग्छ ।’

nullसुर्खेत डेरी उद्योग लागत र प्रविधिका हिसाबले सुर्खेत औद्योगिक क्षेत्रमा मात्र नभई सिंगो कर्णाली प्रदेशमै ठूलो उद्योग मानिन्छ । उद्योगमा मशिनहरू सबै भारतको गुजरातबाट ल्याइएको हो । जयकृष्णका अनुसार एकपटक खरिद गरेपछि १५ वर्षसम्मको टिकाउ हुने अत्याधुनिक मशिन खरिद गरिएको छ । बुटवलदेखि यता पश्चिम नेपालकै अत्याधुनिक मशिन जडान गरिएको छ । यस्तो मशिन नेपालगञ्जमा पनि छैन । 

‘सुर्खेतको विकट गुटुदेखि रानीबाससम्मको दूध आउँछ, दैलेखको चामुण्डाबाट समेत दूध ल्याउँछौं, यो त्यति टाढाबाट दूध आउने ठाउँ होइन,’ जयकृष्णका व्यावसायिक साझेदार माधव धिताल भन्छन्, ‘हामीले उद्योग सञ्चालन गरेपछि यहाँका किसानले राम्रो मूल्य पाएका छन्, दूध बेच्न घरघर धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।’

जयकृष्ण र माधवको सपना छ, सबैभन्दा कम दूध उत्पादन हुने कर्णाली प्रदेशलाई डेरीको माध्यमबाट उत्पादकत्व वृद्धि गर्न किसानलाई दुग्ध उत्पादनमा व्यावसायिक बनाउने र यी २ युवा जन्मथलो काभ्रेबाट सुदूर कर्णालीको सुर्खेतलाई व्यावसायिक गन्तव्य बनाउँदै संघर्ष गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्