१४ असार २०८३, आइतबार

सञ्चारमन्त्री वस्नेतको छड्के निरीक्षण–समयमै कार्यालय नआएको भन्दै कर्मचारी हाजिरी कापी लगे

कात्तिक २०, २०७४
सञ्चारमन्त्री वस्नेतको छड्के निरीक्षण–समयमै कार्यालय नआएको भन्दै कर्मचारी हाजिरी कापी लगे

 

काठमाडौँ, ११ भदौ - सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आज मातहतका कार्यालयहरुको छड्के निरीक्षण गर्नुभयो । 

मन्त्री बस्नेत गोरखापत्र संस्थान र नेपाल दूरसञ्चार प्राधिकरणको केन्द्रीय कार्यालय पुग्नुहुँदा कार्यालय प्रमुखका साथै अन्य कर्मचारी कार्यालय समयमा उपस्थित भएको देखिएन । 

उहाँ बिहान १०ः२० गोरखापत्र संस्थानको कार्यालय पुग्नुभएको थियो । त्यहाँ संस्थानका अध्यक्ष र निमित्त महाप्रबन्धक उपस्थित हुनुहुन्नथ्यो । 

मन्त्री बस्नेतले आवश्यक कारबाहीका लागि भनेर संस्थानका सबै हाजिरी पुस्तिका आफँैसँग मन्त्रालय लिएर जानुभएको थियो । 

आजै मन्त्री बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणको कमलादीस्थित कार्यालयको पनि छड्के निरीक्षण गर्नुभयो । मन्त्री बस्नेत बिहान १०ः४५ बजे प्राधिकरणको कार्यालय पुग्नुहुँदा अध्यक्ष कार्यालयमा भेटिनुभएन भने सो कार्यालयका जम्मा ५८ कर्मचारीमध्ये ४३ जना मात्रै उपस्थित भएको पाइयो । 

मन्त्री बस्नेतले कर्मचारी कार्यालयमा आइसक्नुपर्ने समयभित्र पनि सबै कर्मचारी आइनपुगेको देखेपछि प्राधिकरण कार्यालयको विद्युतीय हाजिरी मेसिनमा टेप टाँसेर तत्काल हाजिरी रोक्न निर्देशन दिनुभयो । त्यहाँको हाजिरी विवरण पनि उहाँले आफूसँगै लिएर जानुभयो । 

छड्के निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बस्नेतले आफूले मातहतका कार्यालयमा कर्मचारी समयमा नआउने र जनताका काममा ढिलासुस्ती हुने गरेको गुनासाका आधारमा सत्यतथ्य पत्ता लगाउन निरीक्षणमा निक्लेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “समयमा कार्यालय नआउने र काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई कानुनी व्यवस्थाअनुसार आवश्यक कारबाही हुन्छ ।” मातहतका कार्यालयमा कार्यरत जनशक्तिलाई भविष्यमा राम्रो नतिजा निकाल्ने गरी कार्यसम्पादन गर्न लगाउने उद्देश्यले निरीक्षण थालिएको उहाँको भनाइ थियो । 

मन्त्री बस्नेतले गर्नुभएको छड्के निरीक्षण शासकीय सुधार र पारदर्शिताका लागि महत्वपूर्ण कार्य भएको मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यालय समयमा कर्मचारी आइनपुग्नु भनेको जनताका काम ढिला गर्नु हो, समयमा कार्यालय नआउनु भनेको अनुशासन बाहिरको विषय हो, त्यस्ता कर्मचारीमाथि विभागीय कारबाही हुन्छ ।” 

सचिव गुरुङले निरीक्षण/अनुगमन मन्त्रालयको नियमित काम भएको र यस्तो अभियानले कर्मचारीको कार्यसम्पादन शैलीमा परिवर्तन ल्याउन ठूलो मद्दत पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्