अभिनेता अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ प्रदर्शनको एक साता नपुग्दै अधिकांश हलबाट उत्रिँदा फिल्म ‘फूलबारी’ भने अझै प्रदर्शनरत छ ।
फागुनको ५ गतेबाट प्रदर्शनमा आएको फिल्म गत शुक्रवारबाट चौथो सातामा प्रदर्शन भइरहेको छ ।
काठमाडौंसहित मोफसलका केही हलमा समेत अझै यो फिल्म चलिरहेको छ । मल्टिप्लेक्स चेनको क्यूएफएक्सले मात्रै मंगलवारका लागि फिल्मलाई ४ सो दिएको छ ।
रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ले आक्रामक ओपनिङ नगरे पनि लामो समयपछि हलमा नेपाली फिल्म हेर्न दर्शकहरुको चहलपहल बढाएको थियो ।
कात्तिकको दोस्रो साता प्रदर्शनमा आएको ‘महापुरुष’पछि कुनै नेपाली फिल्मले दर्शक तान्न नसकिरहेको अवस्थामा ‘फूलबारी’ले चहलपहल बढाउने काम गरेको थियो ।
यो पारिवारिक फिल्ममा विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की लगायतका स्टार कलाकारहरूको अभिनय छ ।
यतिबेला भने दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ४’ले हलमा दर्शकको भिड् लगाइरहेको छ ।