११ साउन २०८३, सोमबार

पाकिस्तानलाई सस्तोमा तेल दिन तयार भयो रुस

फागुन २९, २०७९
पाकिस्तानलाई सस्तोमा तेल दिन तयार भयो रुस

विगत केही महिनायता पाकिस्तान गम्भीर आर्थिक संकटमा परेको छ । 

विदेशी मुद्रा सञ्चितिको कमीका साथै वैदेशिक ऋणमा चुर्लुम्म डुबेको पाकिस्तानले रुसमा सस्तो मूल्यमा तेल किन्न चाहेको छ । 

रुससँग ५० डलर प्रतिब्यारलमा कच्चा तेल किन्नका लागि पाकिस्तानले व्यापक कोशिश गरिरहेको छ । 

यो मूल्य जी७ मुलुकहरूले रुसको तेलमा निर्धारित गरेको अधिकतम मूल्यभन्दा लगभग १० डलर प्रतिब्यारल कम हो । 

विश्व बजारमा अहिले कच्चा तेल ८२.७८ डलर प्रतिब्यारलमा बिकिरहेको छ । 

युक्रेनसँग युद्ध गरिरहेको रुसलाई अमेरिका सहितका पश्चिमी मुलुकहरूले आर्थिक प्रतिबन्ध लगाएका छन् । यस्तो अवस्थामा आफ्नो अर्थतन्त्र चलायमान राख्न रुसले भारत, चीन तथा अन्य मुलुकहरूलाई सस्तो दाममा तेल बेचिरहेको छ । त्यसमा अब पाकिस्तान पनि सहभागी हुन सक्छ । 

विगत केही दिनयता रुस र पाकिस्तानबीच तेल खरिदका विषयमा कुराकानी चलिरहेको छ । बैठकपछि रुसीहरूले पाकिस्तानलाई परीक्षणका रूपमा रुसको एक कार्गो तेल किन्न भनेका छन् । 

यस तेलको भुक्तानी डलरमा गरिने छैन । पाकिस्तानसँग अमेरिकी डलरको चरम अभाव छ । त्यसैले पाकिस्तानले मित्रदेश चीन, साउदी अरब वा यूएईको मुद्रामा तेल किन्नेछ । 

पाकिस्तानी न्युज वेबसाइट द न्युजका अनुसार, पाकिस्तानले सबै औपचारिकता पूरा गरेपछि मात्र रुसले उसलाई सस्तो मूल्यमा तेल पठाउनेछ । भुक्तानी प्रक्रिया, प्रिमियमका साथै ट्रान्सपोर्ट लागत र बीमा जस्ता कुराहरू औपचारिकतामा पर्छन् । 

यी औपचारिकता पूरा भएपछि रुसले परीक्षणका लागि कच्चा तेलको पहिलो खेप पाकिस्तान पठाउनेछ । अप्रिल महिनाको अन्त्यसम्ममा पहिलो खेप पाकिस्तान पुगिसक्ने अपेक्षा छ । 

रुसी बन्दरगाहबाट पाकिस्तानी बन्दरगाहसम्म कच्चा तेल पुग्नका लागि ३० दिन लाग्छ । परिवहन लागतका कारण रुसी तेलमा १० देखि १५ डलर प्रतिब्यारल बढी खर्च लाग्नेछ । 

रुसले पाकिस्तानलाई ५० डलर प्रतिब्यारलमा तेल बेचेमा आयात खर्च समेत जोड्दा ६० वा ६५ डलर प्रतिब्यारल पर्न जान्छ । यो अहिलेको बजारभाउ भन्दा तैपनि निकै सस्तो हो । 

गत डिसेम्बर महिनामा रुसले पाकिस्तानलाई ३० प्रतिशत छुटमा कच्चा तेल दिन मानेको थिएन । त्यतिखेर रुस सस्तो तेलको डील गर्न तयार थिएन । 
 

salt training

कमेन्ट गर्नुहोस्