०६ असार २०८३, शनिबार

सर्वोच्चको आदेश शान्ति सम्झौताअनुकूल नै आयो, हामी चिन्तित हुनुपर्दैन– प्रचण्ड

फागुन २९, २०७९
सर्वोच्चको आदेश शान्ति सम्झौताअनुकूल नै आयो, हामी चिन्तित हुनुपर्दैन– प्रचण्ड
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेकाले सबै सचेत हुन आवश्यक रहेको बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको छैटौं राष्ट्रिय महाविधेशन उद्घाटन गर्दै उनले एकथरी मानिसहरू गणतन्त्र, समावेशी समानुपातिक मान्यता तथा देशका सबै उत्पीडित वर्ग र समुदायले पाएको अधिकारलाई खोस्न उद्धत रहेको दाबी गरेका हुन् ।

उनले राष्ट्र र जनताप्रति इमान्दार भइरहेसम्म दुनियाँका कुनै शक्तिले पनि आफूहरूलाई पराजित गर्न नसक्ने बताए । प्रधानमन्त्री प्रचण्डले विस्तृत शान्ति सम्झौता र त्यसका हस्ताक्षरकर्ता वा नेतृत्वकर्तामाथि कसैले नकारात्मक सोच राखेर नकारात्मक क्रियाकलाप गरे त्यो सफल नहुने दाबी गरे ।

आफूविरुद्ध मुद्दा दर्ता हुँदा तरंग पैदा भए पनि त्यसले माओवादी शक्तिहरूलाई एकजुट हुन मद्दत पुगेको बताए ।

‘विस्तृत शान्ति सम्झौतामाथि, अध्यक्ष र प्रधानमन्त्रीमाथि केही हुन लागेको हो कि भनेर देशभर ठूलो तरंग पैदा भयो । यो हामीलाई सहयोग गर्ने कुरा नै भइरहेको छ भन्ने थियो । विभाजित माओवादीलाई एक ठाउँमा आऊ, छिटोभन्दा छिटो ऐन अघि बढाऊ भन्ने बुझें । तत्काल मन्त्रिपरिषद् बोलाएर संसद्मा दर्ता गराएँ । अदालतको फैसला पनि शान्ति सम्झौताभन्दा बाहिर गएन, त्यसको पक्षमा नै आयो । हामी चिन्तित हुन पर्दैन, तर शतर्क हुनुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले संघीय शिक्षा ऐन पनि यही सदनमा प्रस्तुत गरी चाँडै पारित गर्ने प्रक्रियामा रहेको बताए । उनले मन्त्रिपरिषद् बैठकबाट जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनलगायत सबै आन्दोलनका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गरेको र उनीहरूको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको समेत उल्लेख गरे ।

salt training

कमेन्ट गर्नुहोस्