१० साउन २०८३, आइतबार

बैंक तथा फाइनान्सले घटाए ब्याजदर

फागुन ३०, २०७९
बैंक तथा फाइनान्सले घटाए ब्याजदर

वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् ।

वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्श संघले चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाले आज सूचनामार्फत सो कुराको जानकारी दिएका हुन् ।

भोलि चैत १ गतेदेखि निक्षेपमा ०.४ प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको संघका अध्यक्ष सुनिल केसीले जानकारी दिए। संघ ऋणको ब्याजदर घटाउनमा केन्द्रित भएको उनले बताए।

हाल बैंकहरूले कर्जामा आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । अब एक प्रतिशत घटेपछि आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन् । 

यस्तै निक्षेपतर्फको साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन् ।

यसअघि साधारण बचतमा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ८.४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो ।

मुद्दती निक्षेपको ब्याजदर भने स्थिर राखिएको छ । हाल बैंकहरूले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन् ।

यस्तैगरी संस्थागततर्फ ९ प्रतिशत र ‘रेमिट्यान्स’ मुद्दती खातामा १२ प्रतिशत ब्याजदर तोकिएको छ । यस्तै विकास बैंकहरूको छाता संगठनका रूपमा रहेको डेभलपमेन्ट बैंकर्श एसोसिएसनले चैतका लागि मुद्दती निक्षेपको ब्याजदर ०.२५ प्रतिशतसम्म घटाएको छ ।

संघको निर्णयअनुसार विकास बैंकहरूले चैत महिनादेखि एकवर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम गरेको छ । त्यस्तै एक वर्षभन्दा कमको मुद्दती निक्षेपको ब्याजदर ११.५० प्रतिशत कायम भएको ।

हाल विकास बैंकहरूले एकवर्षे वा सोभन्दा बढी दुवैको व्यक्तिगत मुद्दती निक्षेपमा ११.७५ प्रतिशत ब्याजदर दिँदै आएका थिए ।

यसैगरी, ब्याजदर घटाएसँगै विकास बैंकहरूले चैतमा एकवर्षे वा सोभन्दा माथिको संस्थागत मुद्दती निक्षेपमा नौ दशमलव ६० प्रतिशत र साधारण बचतमा न्यूनतम ६.६० प्रतिशतदेखि ८.६० प्रतिशत ब्याजदर प्रदान गर्नेछन् ।

त्यसैगरी नेपाल वित्तीय संस्था संघ (फाइनान्स) ले मुद्दती निक्षेपको ब्याजदर ०.२० प्रतिशतले घटाएको छ ।

संघले तीन महिनामाथिको निक्षेपको ब्याज दर ०.१५ प्रतिशत घटाउने निर्णय गरेको छ ।

फाइनान्स कम्पनीहरूले एक वर्षको मुद्दती निक्षेपमा १२.१० प्रतिशत ब्याज दिँदै आएकामा चैत १ गतेदेखि ११.९० प्रतिशत ब्याजदर कायम गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्