
राष्ट्रपति निर्वाचन प्रक्रियामा भाग नलिएको राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने निर्णय गरेको छ।
आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
बैठकले किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदूरदर्शी, अमानवीय र अनुचित भएको पनि ठहर गरेको छ।
'मलमा दिइँदै आएको अनुदान काट्ने निर्णय तत्काल फिर्ता लिन, सुलभ ढंगले समयमै मल आपूर्तिको व्यवस्था मिलाउन र मल आपूर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँदछ,' बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।
त्यस्तै राप्रपाले रासायनिक मल सम्बन्धमा पार्टीको ७७ वटै जिल्ला समितिले एक हप्ताभित्र प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, धर्ना दिने र सभा गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै हाल बैंकहरुबाट ब्याज बढ्न थालेकाले साना उद्योगी, व्यवसायी, किसान लगायत सम्पूर्ण आर्थिक क्षेत्रमा ठूलो र नकारात्मक असर परिरहेको भन्दै बैंक तथा वित्तीय संस्थाले ऋणीहरुसँग उठाइरहेको ब्याजदर तत्काल नियन्त्रण गर्न सरकारलाई आग्रह गरेको छ।
अस्वाभाविक रुपमा बढेको ब्याज घटाउन र देशमा वित्तीय सन्तुलन कायम राख्न राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ।