
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपाललगायत १० दलको बैठकमा उपराष्ट्रपतिको साझा उम्मेदवारबारे विवाद उत्पन्न हुने सहमति जुट्न सकेको छैन ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ बसेको बैठकमा सहमति जुट्न नसकेपछि आज बिहीवार पुनः बैठक बस्ने भएको छ ।
बुधवारको बैठकबारे जानकारी दिँदै नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले भने, ‘विशेषतः उपराष्ट्रपतिको निर्वाचनका निम्ति १० दलबीच समझदारी कायम गर्नेबारे छलफल भएको थियो, छलफल सकारात्मक भएको छ, पुनः बिहीवार बसेर टुंगोमा पुग्नेछौं ।’
विवादकै कारण गठबन्धनबाट एक मात्रै उम्मेदवारी पर्न सकेको थिएन । उपराष्ट्रपतिका लागि १० दलभित्रबाट ३ जना उम्मेदवार छन् । जनता समाजवादी पार्टी (जसपा) नेपाललाई उपराष्ट्रपति दिने भनिए पनि जनमत पार्टीले नेत्री ममता झाको मनोनयन दर्ता गराएको छ ।
जसपाले नेता रामसहायप्रसाद यादव र नेत्री प्रमिला कुमारीको मनोनयन दर्ता गराएको छ । नेकपा एमालेको तर्फबाट नेत्री अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।
बुधवारको बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आम जनता पार्टीका अध्यक्ष प्रभु शाहलगायत सहभागी थिए ।