१९ असार २०८३, शुक्रबार

स्ववियु निर्वाचनमा मौन अवधि शुरू, के–के गर्न पाइँदैन ?

स्ववियु निर्वाचनमा मौन अवधि शुरू, के–के गर्न पाइँदैन ?

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा गएरातिदेखि मौन अवधि शुरू भएको छ । 

स्ववियु निर्वाचन आचारसंहिताअनुसार गएराति १२ बजेदेखि मौन अवधि शुरू भएको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले  उम्मेदवारले मौन अवधिमा स्ववियु चुनावको प्रचारप्रसार गर्न नपाउने बताए ।

उनले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचारप्रसार बन्द गरिएको जानकारी दिए । रातिदेखि आचारसंहिता लाग्ने भएपछि बिहीवार सम्बन्धित क्याम्पसले उम्मेदवारको प्रचारप्रसारका लागि एउटा कार्यक्रम गरी परिचयात्मक कार्यक्रम राखेका थिए । 

चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि ५ दिनको लागि मात्र प्रचारप्रसारको समय छुट्याइएको थियो । निर्वाचनका लागि फागुन २७ गते उम्मेदवार मनोनयनपत्र दर्ता गरिएको थियो । 

स्ववियु निर्वाचन आचारसंहितामा प्रचारप्रसार गर्नका लागि रंगरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने तथा निर्वाचन सम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको छ । उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावलीको एफोर साइजको एकै रंग भएको पर्चा मात्र प्रचारप्रसार गर्न पाइने आचारसंहितामा उल्लेख गरिएको छ । 

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववियु निर्वाचनका लागि ६२ आंगिक र १ हजार ४० क्याम्पसमा एकैसाथ चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।

त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल लैजान निधेष गरेको छ । निर्वाचनलाई भयरहित बनाउनका लागि त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको हो । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले निर्वाचनलाई भयरहित बनाउनका लागि तरल, धातुजन्य वस्तु, डिजिटल वस्तु र आगोजन्य वस्तु मतदान केन्द्रमा लैजान निषेध गरिएको  बताए ।

उनका अनुसार पानीका बोतल, पेट्रोल, डिजल, मादक पदार्थ, औषधिजन्य वस्तु, सिसाका बोत्तल, रंग, मसी लैजान निषेध गरिएको छ । धातुजन्य वस्तुमा नङकट, धारिलो हतियार, भाला, खुकुरी, छुरी, चक्कु, डिजिटल वस्ुतमा मोबाइल, क्यामेरा, झोला, लौरो, हेल्मेट, छाता, चाबी, रेकर्डर, साइकल तथा मोटरसाइकलको चेन समेत लैजान प्रतिबन्ध गरिएको छ । लाइटर, सलाई, ग्यासजन्य वस्तु पनि लैजान प्रतिबन्ध गरिएको छ । 

उनले त्रिविअन्तर्गतका सबै क्याम्पसमा रहेका निर्वाचन समितिलाई प्रतिबन्धित वस्तु लैजान निषेध गर्न निर्देशन समेत दिइसकेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्