२८ जेठ २०८३, बिहीबार

उपराष्ट्रपति निर्वाचन : संघीय संसद् र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र

उपराष्ट्रपति निर्वाचन : संघीय संसद् र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र

मुलुकको उपराष्ट्रपति पदको निर्वाचनका लागि शुक्रवार मतदान हुँदैछ ।

निर्वाचनमा नेकपा एमालेका अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने मतदानमा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ ।

उपराष्ट्रपति निर्वाचनमा संघीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ ।

मतदाताले मतपत्रमा उम्मेदवारको तस्वीर र नाम अंकित रहेको कोठामा स्वस्तिक छाप लगाई मत संकेत गर्नुपर्नेछ । संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम रहेको छ ।

निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेश सभाका ५५० सांसद मतदाता छन् । मतदान सम्पन्न भएलगत्तै मतगणना शुरू हुने सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।

राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ । उपराष्ट्रपति मर्यादाका हिसाबले दोस्रो माथिल्लो पद हो । उपराष्ट्रपतिको पदावधि ५ वर्षको हुनेछ । मुलुकमा उपराष्ट्रपतिको यो तेस्रो निर्वाचन हुन लागेको हो । हाल उपराष्ट्रपतिमा नन्दबहादुर पुन छन् ।

salt training

कमेन्ट गर्नुहोस्