
छैटौँ संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) बिहीवारदेखि काठमाडौंमा सुरु भएको छ ।
‘विश्वभरीका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नाराका साथ सुरु भएको ‘निफ’मा ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने छन् ।
५० भन्दा बढी विदेशी फिल्मकर्मीले महोत्सवको उद्घाटन समारोहमा सहभागिता जनाएका थिए । महोत्सव ६ गतेसम्म चल्ने छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहित वरिष्ठ फिल्मकर्मी, जज एवं कुटनीतिज्ञहरूको आतिथ्यतामा सिभिल मलमा आयोजित कार्यक्रमकाबीच महोत्सवको औपचारिक शुभारम्भ गरिएको हो ।
बोर्डका अध्यक्ष केसी, नेपालका लागि चाइनाका राजदूत छन् सोङ, वरिष्ठ अभिनेत्री बसुन्धारा भुसाल, निफका संयोजक यादव भट्टराई, निफका अध्यक्ष केपी पाठकले शुभारम्भ समारोहमा मन्तव्य राखेका थिए ।
भारत, ब्राजिल, युरोपियन युनियनका प्रमुख तथा प्रतिनिधिहरुको फेष्टिभल उद्घाटन समारोहमा उपस्थिति रहेको थियो ।
महोत्सवमा चलचित्रको प्रदर्शन क्यूएफएक्सद्धारा सञ्चालित चारवटा अत्याधुनिक सिनेमा हलहरु (काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, ललितपुर पुल्चोकको लविङ मल र भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हल)बाट हुनेछन् ।
महोत्सवका प्रतियोगी चलचित्र माथि उल्लेखित हलमा चलचित्र प्रदर्शन हुनेछन् भने सम्पूर्ण सेसनहरु भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा सञ्चालित हुनेछन् ।
छैटौँ निफको ‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन भएको छ ।
चलचित्र हेर्नका लागि ‘खल्ती एप’ मार्फत टिकट बुकिङ गर्न सकिने छ ।