
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीशहरूको कमीले अपेक्षित न्याय सम्पादनको काम हुन नसकेको स्पष्ट पारेका छन्।
शुक्रबार ललितपुरमा आयोजित ‘अभिवक्ताको ३० औं परीक्षामा उत्तीर्ण भएका कानुन व्यवसायीहरूका लागि सञ्चालित पूर्वव्यावसायिक आधारभूत तालिम उद्घाटन समारोह’मा बोल्दै उनले न्यायालय सुधारको काममा लागि परे पनि न्यायाधीशको संख्या कमी भएका कारण त्यस कामले गति लिन नसकेको कायममुकायम प्रधानन्यायाधीश कार्कीले बताए।
उनले मुद्दा बढ्ने तर न्यायाधीशको संख्या कमी हुने स्थितिबाट अदालत गुज्रनु परे पनि आफूहरूले न्यायमा ढिलाइ हुन नदिने र न्यायको गुणस्तर मर्न नदिने कुरामा सचेत रहेर काम गरिरहेको दाबीसमेत गरे।
कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायालयको सुधार र निष्पक्ष एवम् गुणस्तरीय न्याय प्रदान गर्ने कुरामा रचनात्मक र सकारात्मक सहयोग गर्न कानुन व्यवसायीहरूलाई पनि आग्रह गरे।
उनले भने, ‘हामी निरन्तर न्यायालय सुधारको काममा लागि रहेका छौं । हामीलाई अहिले मुद्दाले धेरै जितेको छ । न्यायाधीशको संख्या कम छ । हामीले चाहेर पनि नहुने स्थिति भएको छ । उच्च अदालतमा एक चौथाइ न्यायाधीशहरू पूर्ति गर्न सकिएको स्थिति छैन । सर्वोच्च अदालतमा न्यायाधीशको पद रिक्त छ । यो स्थितिमा अहिले हामी हिँडिरहेका छौं । न्यायाधीशको कम संख्यामा पनि हामी गुज्रिरहेका छौं । मुद्दाको संख्या आज दिनानुदिन बढदै छ।'