
नेपाली कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने भएको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आइतवार बसेको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
‘चैत ६ गते प्रधानमन्त्रीले विश्वासको मत लिँदै हुनुहुन्छ । त्यसमा नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णयका लागि कार्यसम्पादन समितिले संसदीय दललाई निर्देशित गर्नेछ,’ महतले भने, ‘संविधानको रक्षा, सम्बर्द्धन, वृहत्तर विकास र समृद्धिप्रति केन्द्रित रहेर काम गर्ने अपेक्षासहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा पनि सहभागी हुने भएका हौं ।’
कार्यसम्पादन समितिको यो निर्देशनलाई अब बस्ने संसदीय दलको बैठकले अनुमोदन गर्नेछ ।
यसअघि २६ पुसमा पनि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो ।
राष्ट्रपति निर्वाचनमा कांग्रेस र माओवादी मिलेपछि एमाले सरकारबाट बाहिरिन पुग्यो । यसपछि कांग्रेस सरकारमा सहभागी हुने तयारीमा छ ।
सोमवार प्रधानमन्त्रीले विश्वासको मत लिएपछि दुई-तीन दिनभित्रमा सरकार विस्तार गर्ने तयारी छ ।