
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको हो । यो निर्णयलाई संसदीय दलको बैठकले औपचारिकता दिँदैछ ।
प्रतिनिधिसभाको बैठकअघि नै संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र कांग्रेस सरकारमा सहभागी हुने निर्णय गर्ने भएको हो । प्रधानमन्त्रीले सोमवार विश्वासको मत लिँदैछन् ।
कार्यसम्पादन समितिले सरकारमा कांग्रेसका तर्फबाट सहभागी हुने मन्त्री चयनका लागि मापदण्ड पनि तोकेको छ । योगदान र योग्यतका लागि समावेशिता र प्रादेशिक सन्तुलन मिलाउने निर्णय कांग्रेसले गरेको हो ।
‘नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर गर्ने निर्णय यो बैठक गर्दछ,’ मन्त्री चयनका लागि कांग्रेसले तय गरेको मापदण्डमा उल्लेख छ ।
यस्ता छन्, कांग्रेस कार्यसम्पादन समितिको निर्णय :
१. चैत्र ३ गते सम्पन्न उपराष्ट्रपति पदको निर्वाचनबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदमा निर्वाचित उपराष्ट्रपति श्री रामसहाय यादवलाई कार्यकाल सफलताको कामनासहित यो बैठक हार्दिक बधाई ज्ञापन गर्दछ ।
२. संविधान रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको समुन्नतिका लागि सहकार्यको संकल्पसहित गत निर्वाचनमा नेपाली जनतासमक्ष गरेको वचनबद्धता अनुरूप नेपाली कांग्रेससहितका राजनीतिक दलहरूबीचको आपसी एकता र समझदारीलाई अझ सुदृढ गर्नु आवश्यक छ । हालै सम्पन्न संघीय गणतन्त्र नेपालको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा गठबन्धनले प्राप्त गरेको विश्वासप्रति सबैलाई आभार प्रकट गर्दै यो बैठक गठबन्धन दलहरूबीचको समझदारी र एकतालाई अझ बलियो बनाउँदै अघि बढ्ने क्रममा नेपालको संविधानको धारा ७६ (२) बमोजिम गठित श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेको वर्तमान सरकारलाई नेपाली कांग्रेसको विधानको धारा २२ (११) बमोजिम समर्थन गर्ने र २०७९ चैत्र ६ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राख्नुहुने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नका लागि पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गर्दछ ।
३. संसद्को सबैभन्दा ठूलो दलका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा नेपाली कांग्रेस सहभागी हुने निर्णय यो बैठक गर्दछ । संविधान रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिँदै मुलुकको चौतर्फी विकासमार्फत समुन्नति हासिल गर्ने साझा कार्यभारप्रति यो बैठक दृढ प्रतिबद्धता व्यक्त गर्दछ ।
४. नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन निर्णय यो बैठक गर्दछ ।