
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पुस १० गते भएको सहमतिविपरीत कांग्रेससँग सहकार्य गर्नुको कारणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्न गरेको छ ।
सोमवार प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रचण्डले पुस १० गतेको सहमतिबाट पछि हट्नुको कारण नबताई सुख नपाउने बताएका हुन् ।
पुस १० मा प्रचण्ड प्रधानमन्त्री बन्ने र एमालेले राष्ट्रपति तथा सभामुख पाउने सहमति भएको थियो ।
‘इतिहासले यो प्रश्न फेरि दोहोर्याएर सोध्नेछ, जबसम्म तपाईंले जवाफ दिनुहुँदैन, तबसम्म सोधि नै रहनेछ । के त्यस्तो परिस्थिति निर्माण भयो र तपाईंले यो सहयात्रा आरम्भ गर्दै हुनुहुन्छ ? यो सहयात्रामा फर्किनु थियो भने १० गते तपाईं किन बालकोट जानुभयो ? बालकोटको समर्थनमा तपाईं किन प्रधानमन्त्री बन्नुभयो ? र, २ महिना नबित्दै यो समीकरणमा किन फर्किनुभयो ? तपाईंले यो प्रश्नको जवाफ नदिइ सुख पाउनुहुँदैन भन्ने लाग्छ,’ पौडेलले भने ।
उनले प्रधानमन्त्रीले गरेको सहमतिको कुनै अर्थ हुन्छ कि हुँदैन भनेर समेत प्रश्न गरे ।
‘प्रधानमन्त्रीले बोलेको कुराको अर्थ हुन्छ कि हुँदैन ? राष्ट्रिय सहमतिको नाममा कांग्रेसलाई समर्थन गरेका प्रचण्डले कांग्रेसले उम्मेदवारी दिँदैछ भन्ने कुरा पुस १० गते किन थाहा पाउनुभएन ? किन एमालेलाई राष्ट्रपतिमा समर्थन गर्छु भन्नुभयो ?’ पौडेलले सोधे, ‘के त्यस्तो परिस्थिति निर्माण भयो र आफ्नो दृष्टिकोण बदल्नुभयो । देशको कार्यकारीको निर्णय यति अविश्वसनीय हुँदा जनतामा के प्रभाव पर्ला ?’
पौडेलले प्रधानमन्त्रीकै कारण एमाले सरकारबाट बाहिरिनुपर्ने अवस्था आएको बताए ।
उनले एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जानकारी गराउँदै विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न सिंगो सदनलाई अपिल गरे ।