इन्डोनेसियाले बालीमा रहेको ४७ जना विदेशी नागरिकलाई देशनिकाला गरेको छ ।
ती विदेशीहरूले पर्यटन भिसाको दुरुपयोग गर्दै काम गर्न थालेपछि इन्डोनेसियाले उनीहरूलाई निकालेको हो ।
निकालिएकामध्ये १३ जना रुसी नागरिक हुन् । सन् २०२२ मा लगभग ५८ हजार रुसीहरूले बाली भ्रमण गरेका थिए । अनि थप २२ हजार ५०० जना जनवरी २०२३ मा मात्र त्यहाँ पुगेका थिए ।
त्यस्तै सन् २०२२ मा ७ हजारभन्दा बढी युक्रेनीहरू बाली पुगेका थिए भने सन् २०२३ को जनवरीमा मात्र २५ सयजना जति आएका थिए ।
बालीका अधिकारीहरूले रुस र युक्रेनका नागरिकलाई अनअराइभल भिसा दिने प्रणाली खारेज गर्न आह्वान गरेका छन् । उनीहरूले भिसा अवधिभन्दा बढी समय बसेको र अवैध रूपमा काम गर्न थालेको आरोप छ ।
एकजना युक्रेनी नागरिकले इन्डोनेसियाको फर्जी राष्ट्रिय परिचयपत्र बोकेको पाइएपछि अदालतमा मुद्दा चलिरहेको छ ।
अनि रुसी र युक्रेनीहरूले खतरनाक तरिकाले मोटरसाइकल चलाएर दुर्घटना गराएपछि उनीहरूलाई बाइक चढ्न प्रतिबन्ध पनि लगाइएको छ ।