०७ साउन २०८३, बिहीबार

सके पहिलो, नत्र दोस्रो दलले सरकार बनाउनुपर्थ्यो, तेस्रोलाई बोकियो– चित्रबहादुर केसी

सके पहिलो, नत्र दोस्रो दलले सरकार बनाउनुपर्थ्यो, तेस्रोलाई बोकियो– चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकार बनाउने र भत्काउने खेलले देशको समृद्धि हुन नसक्ने बताएका छन् ।

सोमवार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनेसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै केसीले संसदीय प्रणालीलाई स्वीकार गर्दै जाँदा अहिले यो प्रणाली चलाउन नै नसक्ने अवस्था आएको बताए ।

सरकार संसद्को ठूलो पार्टी र ठूलो पार्टीले नसके दोस्रो ठूलो पार्टीले बनाउनुपर्नेमा तेस्रो पार्टीलाई बोकेर हिँड्नु शर्मनाक रहेको उनको भनाइ छ ।

‘हाम्रो निर्वाचन प्रणालीले कसैको पनि बहुमत आउने स्थिति देखिँदैन । सरकार भत्काउने, बनाउने देखिएको छ । अब पनि यही हो । संसदीय प्रणालीलाई स्वीकार गरेका छौं, तर चलाउनै नसक्ने भयौं । संसदभित्र भएको ठूलो पार्टीले सरकार बनाउनुपर्ने हो कि होइन ? पहिलोले नसकेपछि दोस्रो पार्टीले बनाउने हो, तर तेस्रो पार्टीलाई समात्दै हिँड्ने ?’ केसीले भने ।

केसीले सरकार बनाउने र गिराउने खेती भइरहेको भन्दै यसरी लोकतन्त्र र गणतन्त्र जोगिन नसक्ने जिकिर गरे ।

अध्यक्ष केसीले सत्ता र स्वार्थका लागि मात्रै लड्न नहुने बताए ।

आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत भने दिने उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्