
अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई मंगलवार पक्राउ गरिने सम्भावना बनेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
वर्षौंअघि पोर्न अभिनेत्री स्टोर्मी डेनियल्सलाई रहस्य नखोल्नका लागि पैसा खुवाएको आरोपमा ट्रम्पविरुद्ध अदालतले कसूर ठहर गरी पक्राउको आदेश दिने समभावना छ ।
आफू पक्राउ पर्न सक्ने भएपछि ट्रम्पले समर्थकहरूलाई त्यसको प्रतिकारस्वरूप विशाल प्रदर्शन गर्न आह्वान गरेका छन् ।
म्यानह्याटनका डिस्ट्रिक्ट अटोर्नी एल्भिन ब्रागले गरे्को अनुसन्धानका विषयमा ग्रान्ड जुरीले विमर्श गरिरहेको छ ।
यसमा कसूरदार ठहर भएमा ट्रम्प यस्तो हुने पूर्व वा बहालवाला पहिलो राष्ट्रपति हुनेछन् । त्यसले सन् २०२४ को राष्ट्रपति निर्वाचनको प्रतिस्पर्धामा झड्का दिनेछ । ट्रम्पले पनि उक्त चुनावमा उठ्नका लागि नाम दर्ता गराइसकेका छन् ।
जुरीले यस मुद्दाका अन्तिम साक्षीसँग सोमवार अन्तर्वार्ता गरेपछि ट्रम्पलाई बुधवार कसूरदार ठहर गर्न सक्ने सम्भावना रहेको केही अमेरिकी सञ्चारमाध्यमहरूले खबर दिएका छन् । अन्तिम साक्षी रोबर्ट कोस्टेलो नामक कानूनव्यवसायी हुन् ।
ट्रम्प पक्राउ पर्न सक्ने सम्भावनाका बीच न्युयोर्क प्रहरीले ब्रागको कार्यालय र ट्रम्प टावरमा ब्यारिकेड बनाएको छ । अतिरिक्त सुरक्षाबल खटाएर शान्ति व्यवस्था कायम गर्न उसले प्रयास गरेको छ ।