
राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका छन् ।
मुख्य प्रशिक्षक एनेसले भोलिदेखि सुरु हुने उक्त प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली खेलाडीको नाम सार्वजनिक गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । उनले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको आधारमा खेलाडी छनोट गरेका हुन् ।
प्रमुख प्रशिक्षक एनेसले उक्त प्रतियोगिता खेल्न नेपाली टोली तयारी अवस्थामा रहेको बताए । उनको प्रशिक्षणमा नेपालले पहिलो पटक खेल्न लागेको हो । प्रशिक्षक एनेसले छोटो समयमा नै नेपाली टिम तयार गरेको भन्दै चुनौतीका साथ आफनो टोली खेल्न तयार रहेको बताए।
त्यस्तै नेपाली फुटबल टोलीका कप्तान किरण चेम्जोङले उक्त प्रतियोगिताका लागि छोटो तयारी भए पनि लाओसविरुद्ध खेल्न आफनो टोली तयार रहेको बताए ।
छनोट हुने नेपाली टोलीको गोलकिपरमा कप्तान चेम्जोङसहित दीप कार्की र अभिषेक बराल छन् भने डिफेन्डरमा सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी र निशान खड्का छन् ।
त्यस्तै मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा र भरत खवास छन् भने फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ र मनिष डाँगी रहेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उक्त प्रतियोगिता यही चैत ८ देखि १७ गतेसम्म हुँदैछ ।