
तिब्बेतियन नागरिकलाई नागरिकता बनाइदिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
अपराध अनुसन्धान कार्यालयले काडमाडौँको बबरमहलबाट बुधबार ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापा कचनाकवल गाउँपालिका–३ का ४७ वर्षीय कृष्णबहादुर कटुवाल, काठमाडौं–११ बबरमहलका ७० वर्षीय न्युल्केश श्रेष्ठ, मोरङ सुन्दरहरैचा नगरपालिका–३ का ४९ वर्षीय हीरालाल शिवाकोटी, तनहुँ शुक्लागण्डकी नगरपालिका–८ का २५ वर्षीय लोब्साङ ठिन्ले र ललितपुर गोदावरी नगरपालिका–७ का ३० वर्षीय विजय लामा छन् ।
पक्राउ परेका कृष्ण बहादुर कटवालले १० वर्षदेखि लाइसेन्स र दर्ताविना नै लेखापढी गर्ने कार्य गर्दै आएका थिए ।
पक्राउ परेका अर्का व्यक्ति हीरालाल शिवाकोटी समेतको सहयोगमा विभिन्न व्यक्तिहरूको नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरू, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइसराइँ, विवाह दर्ता, सम्बन्धविच्छेदजस्ता वडा कार्यालयको सिफारिसलगायत महत्वपूर्ण कागजात, छाप तथा दस्तखत किर्ते गर्दै आएको देखिएको छ ।
कटवालले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट गैरनेपाली (विशेष गरी तिब्बेतियन शरणार्थीहरू) को सक्कलै नेपाली नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिहरूलाई नक्कली बाबुको रूपमा उपस्थित गराई सनाखत गराउने गरेको खुलेको हो ।
पक्राउ परेका नेपाली नागरिक न्युल्केश श्रेष्ठलाई पक्राउ परेका कृष्ण कटवाल समेतले मिङछुङ शेर्पा नामको नक्कली नेपाली नागरिकता बनाई प्रतिपटक १० हजार दिई भाडामा नक्कली बाबुको रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थित गराई सनाखत गर्ने गराउने गरेको देखिएको प्रहरीले जनाएको छ ।
न्युल्केश श्रेष्ठले हालसम्म गैरनेपाली तिब्बतियन व्यक्तिहरू सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पालगायत सक्कलै नागरिकता बनाउन नक्कली बाबु बनि सहयोग गरेको खुलेको हो ।
पक्राउ परेका कृष्ण कटवालले त्यसरी किर्ते कागजात तयार गरी गैरनेपाली सक्कली नेपाली नागरिकता दिलाउन प्रतिव्यक्ति ३ देखि ५ लाखसम्म रकम लिने गरेको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका लोब्साङ ठिन्ले तिब्बेतियन शरणार्थी क्याम्पमा बस्दै आएका र उनले २०७९ फागुन ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लोब्साङ ठिन्ले गुरुङको नामबाट स्थायी ठेगाना कामनपा-१७ राखी नाप्रपनं २७-०१-७९-१५९०१ को नेपाली नागरिकता लिएको देखिएको छ ।
यस्तै नागरिकता लिएका अन्य २५-३० जनाको सक्कलै नागरिकता प्राप्त भएकाले त्यसमा पनि अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।
पक्राउ परेका अर्का व्यक्ति विजय लामा ९ वर्षदेखि जिल्ला प्रशासन कार्यालयको क्यान्टिनमा काम गर्दै आएका र जिल्ला प्रशासन कार्यालय काठमाडौँंभित्र मिलाउनुपर्ने सबै कामको जिम्मा लिने गरेको देखिएको छ।
लामाले भित्र मिलाउनुपर्छ भनी पक्राउ परेका कृष्ण बहादुर कटवालसँग प्रतिनागरिकता १ लाख ५० हजारसम्म लिई नागरिकता लिने कार्यमा सहजीकरण गरेको खुल्न आएको हो ।
पक्राउ परेका कटवालले मात्रै ५-६ वर्षको अवधिमा झण्डै ५०० भन्दा व्यक्तिलाई यस्तै प्रक्रियाबाट नागरिकता दिलाएको र यस्तो कार्यमा कटवालजस्तै अन्य ४-५ जना व्यक्ति पनि सक्रिय रहेको भन्ने प्रहरीको अनुसन्धानमा देखिएको प्रवक्ता एसपी सोमेन्द्रसिंह राठैरले बताए ।