
पछिल्लो समयमा अनलाइन बेटिङ एप्स ‘वान एक्स बेट’बाट करोडौं रुपैयाँको कारोबार हुने गरेको खुलासा भाएको छ ।
नेपालमा अहिले क्रिकेटलगायतका विभिन्न खेलहरूको आकर्षण बढिरहेको समयमा अनलाइन बेटिङहरू बढ्न थालेका छन्।
बुधबार अपराध अनुसन्धान कार्यालयले करिब ४१ करोड कारोबार भएका खाता, डिजिटल वालेटसहित ६ जनालाई पक्राउ गरेको हो ।
अपराध अनुसन्धान कार्यालयले जुम्लाका चन्दननाथ नगरपालिका– ६ खलङ्गाका २३ वर्षीय दिलिपसिंह कठायत, गैरीगाउँका २३ वर्षीय भुपालराज न्यौपाने, ललिवाडाका १९ वर्षीय जयनराज भण्डारी, सर्लाही बलरा नगरपालिका–५ का २८ वर्षीय बरुणकुमार सिंह, काठमाडौं महानगरपालिका–३२ का ३२ वर्षीय बासुदेव पाण्डे र काभ्रे मादनकुडारी गाउँपालिका–१ की २६ वर्षीय शिवानी तामाङलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट ३४६ थान सिमकार्ड समेत बरामद गरेको प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जनकारी दिए ।
उनका अनुसार दिलीपले विगत १ वर्षदेखि, भुपालले विगत ९ महिनादेखि, नयनराजले ६ महिनादेखि, वरुणले ६ महिनादेखि, शिवानीले ८ महिनादेखि र बासुदेवले १ वर्षदेखि 'वान एक्स वेट'को एजेन्ट भएर काम गर्दै आएको अनुसन्धानमा देखिएको छ ।
उनीहरूले विभिन्न डिजिटल वालेट र बैंक खाता खोलेर कारोबार गर्दै आएका थिए ।
दिलीप, भूपाल र नयनराजले आफ्नै नाममा रहेको ८ वटा र आफ्नो बहिनीको नामको २ वटा, इन्फिवेव नामको नक्कली कम्पनीको खडा गरेर २ वटा कर्पोरेट १२ वटा खाता सञ्चालन गरी बेटिङ कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ ।
१२ वटा खातामध्ये कारोबार विवरण ९ वटा खातामार्फत हालसम्म ७ करोड ७७ लाख ८७ हजार ३२८ बराबरको बेटिङ कारोबार गरेको देखिएको र बाँकी ३ वटा खाताको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यस्तै बरुणले आफ्नै नाममा ४ वटा र विभिन्न कम्पनीको नाममा खोलिएको अन्य ४ वटा गरी जम्मा ८ वटा बैंक खाता खोली बेटिङ कारोबार गर्ने गरेको खुलेको छ। १ वटा खातामा ८२ लाख ३२ हजार ७७० बराबरको कारोबार देखिएको र अन्य ७ वटा खाताको विवरण आउन बाँकी रहेको कार्यालयले जनाएको छ ।
शिवानी तामाङको ३ वटा खातामार्फत बेटिङ कारोबार हुने गरेकोमा २ वटा खाताबाट ४७ लाख ९३ हजार १० बराबरको रकम कारोबार भएको देखिएको छ ।
यस्तै अन्य विभिन्न व्यक्तिहरूको ३५ वटा खातामा १२ करोड २५ लाख ३५ हजार बराबरको कारोबार भएको देखिएको एसपी राठौरले जानकारी दिए ।
उनका अनुसार सबैको खाताबाट ४१ करोड १५ लाख ८९ हजार बराबरको कारोवार भएको देखिएको छ ।
दिलीपको डेरा कोठाबाट वालेट खोल्ने प्रयोजनका लागि एनसेलको सिम ६३ थान, एनटीसीको सिम १९ थान र स्मार्टको सिम १ वटा गरी जम्मा ८३ थान सिमकार्ड फेला परेको छ ।
भूपालको साथबाट एनसेलको ९१ थान, एनटीसीको ४७ थान गरी जम्मा १३८ थान फेला परेको छ ।
नयनराज भण्डारीको साथबाट एनसेलको ११६ थान, एनसेलको थान ६ सहित जम्मा १२३ थान र बरुण कुमार सिंहको साथबाट एनसेलको सिमकार्ड थान २ गरी जम्मा ३४६ थान सिमकार्डसमेत बरामद गरेको प्रवक्ता राठौरले बताए ।