
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोजगारीका लागि विदेश जाने युवालाई कुनै पनि किसिमले दुःख दिने, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य नहुने बताएका छन्।
वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई समाजिक सुरक्षा कोषका योजनामा आबद्ध गराउने कार्यको शुभारम्भ गर्दै उनले भने, 'अब दुःख दिने, दुःख पाउने दिन गए । अब सबैको सम्मान हुनेछ, सबैको आत्मसम्मानमा बढोत्तरी हुनेछ, यहाँहरूको योगदानको कदर हुनेछ ।'
उनले वैदेशिक रोजागारीका लागि नयाँ नयाँ अवसर र गन्तव्यको खोजी गर्ने मन्त्रालयको तयारीलाई समेत प्रोत्साहित गर्न चाहेको उल्लेख गर्दै श्रम सम्झौता हुन बाँकी देशहरूसँग सम्झौता गर्ने, भइसकेका सम्झौतालाई समय सापेक्ष बनाउने कार्यलाई अगाडि बढाइने बताए।
प्रचण्डले विदेशमा रहेका नेपालीको हकहित, सुविधा बढोत्तरी गर्ने र त्यसबाट हुने लाभलाई गुणात्मक रुपमा बढाउने विषय सरकारको प्राथमिकतामै रहेको जानकारी दिए।
अध्यागमनमा हुने रोजगारीका लागि श्रम स्वीकृति लिएर जाने युवाप्रति हुने फरक व्यवहार गरिने व्यवस्था अन्त्य भएको र सरकारको प्राथमिकता भनेको जनतामुखी सेवा प्रवाह नै हो भन्ने विश्वास दिलाउन चाहेको उनले स्पष्ट पारे।