
नेपाल प्रहरीका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को चैत ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षक (डीआईजी)बाट एआईजी पदमा पदोन्नति भएका उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले आज एक कार्यक्रमबीच एआईजी पदमा बढुवा भएका बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरे।
कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनको सफलताको शुभकामना दिँदै पदोन्नति भएका मध्यबाटै सङ्गठन प्रमुख हुने भएकाले आगामी दिन सङ्गठन प्रमुखको रुपमा प्राप्त हुने जिम्मेवारी बहन गर्नका लागि तयार हुन निर्देशन दिए।
उनले सङ्गठनको उच्च तहमा रहने प्रहरीले चौतर्फी रुपमा चुनौतीको सामना गर्नुपर्ने भएकाले उक्त चुनौती र जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्ने बताए।
महानिरीक्षक सिंहले सङ्गठनको नेतृत्वसँगै नेपाल प्रहरीलाई कसरी गतिशील र चलायमान बनाउन सकिन्छ भन्ने बारेमा योजना बनाउनुपर्ने उल्लेख गरे।