३० असार २०८३, मंगलबार
मन्त्रिपरिषद् विस्तार

सरकार विस्तारको तयारीमा प्रचण्ड, कुन दलले कति पाउँदैछन् मन्त्रालय ?

सरकार विस्तारको तयारीमा प्रचण्ड, कुन दलले कति पाउँदैछन् मन्त्रालय ?

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार विस्तारको तयारीलाई तीव्रता दिएका छन् ।

आफूलाई विश्वासको मत दिने दलहरूलाई सरकारमा समेट्ने तयारी गरेर प्रधानमन्त्री प्रचण्डले मन्त्रालय बाँडफाँटको तयारी गरिरहेका छन् । 

आफूलाई समर्थन गर्ने दललाई सरकारमा सहभागी गराउने हिसाबले प्रधानमन्त्रीले भागबण्डाको तयारी गरिरहेको माओवादीका नेता देवेन्द्र पौडेलले जानकारी दिए । 

‘प्रधानमन्त्रीको तयारी आफूलाई समर्थन गर्ने ११ वटै दललाई सरकारमा सहभागी गराउने भन्ने छ । यसको लागि तयारी भइरहेको छ । प्रधानमन्त्रीले खाका बनाउँदै हुनुहुन्छ’, पौडेलले भने, ‘माओवादीको बैठकमा पनि एक खालको छलफल भएको छ । अब दलगत रुपमा छलफल गर्ने र आइतबार र सोमबार थप छलफल गरी सरकार विस्तार गर्ने भन्ने छ ।’ 

कुन दलको भागमा कति मन्त्रालय पर्लान् ?

फेरिएको सत्ता गठबन्धनको दल कांग्रेसले ८ वटा मन्त्रालयमा दाबी गरेको छ । कांग्रेसको शनिबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारीको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले ८ वटा मन्त्रालयमा कांग्रेसले दाबी गरेको ब्रिफिङ गरेका थिए ।

तर सरकारमा सहभागी हुने दलको संख्या बढेपछि प्रधानमन्त्रीले ७ मन्त्री र एक राज्यमन्त्री कांग्रेसलाई दिने गरी सहमतिको खाका बनाउने तयारी गरेका छन् ।

माओवादीले अहिले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्रालय पाएको छ। यसलाई कायम राख्ने तयारीमा प्रधानमन्त्री छन् ।

माओवादीबाट भौतिक पूर्वाधारमा नारायणकाजी श्रेष्ठ, सञ्चारमा रेखा शर्मा, पर्यटनमा सुदन किराँती, संघीय मामिलामा अमनलाल मोदी मन्त्री छन् ।

माओवादीकै सुशीला श्रीपाइली ठकुरी पर्यटन राज्यमन्त्री छिन् । जनमतबाट अब्दुल खान खानेपानी मन्त्री छन् । प्रधानमन्त्रीले बनाएको खाकामा जनमतले पाउने यही एउटा मात्रै मन्त्रालय हो । तर प्रतिनिधिसभामा ६ सिट भएको जनमतले २ वटा मन्त्रालय दाबी गरेको छ । 

३/३ मन्त्रालय दाबी गरेका जसपा र नेकपा एसले २/२ वटा मन्त्रालय पाउनेछन् । यी दुईमध्ये एकले राज्यमन्त्री पनि पाउने तयारी छ ।

२/२ वटा मन्त्रालय दाबी गरेका लोसपा र नागरिक उन्मुक्तिलाई १/१ वटा मन्त्रालय दिने तयारीमा प्रधानमन्त्री रहेको बालुवाटार स्रोत बताउँछ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएका स्वतन्त्र सांसदद्वय प्रभु साह र अमरेशकुमार सिंहमध्ये एक जनालाई पनि मन्त्री बनाउने सम्भावना छ । माओवादी चुनाव चिह्नबाट चुनाव लडेका महिन्द्रराय यादव पनि मन्त्रीका लागि दाबेदार हुन् ।

दलसँग छुट्टाछुट्टै छलफल गरेपछि सत्तारूढ दलको संयुक्त बैठक गरी भागबण्डाको प्रस्ताव गर्ने तयारीमा प्रचण्ड रहेको बालुवाटार स्रोतले जानकारी दियो ।

संख्यासँगै कुन दलले कुन मन्त्रालय लिने भन्ने टुंगो पनि प्रधानमन्त्रीले लगाउँदैछन् । मन्त्रालय टुंग्याउन प्रधानमन्त्रीले सबैभन्दा ठूलो दल कांग्रेससँग बढी संवाद गर्दैछन् ।

अरू दलसँग कम संवाद गरे पनि प्रधानमन्त्रीले कांग्रेसँग नियमित संवाद गरिरहेका छन् । प्रधानमन्त्रीसँग कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले छलफल गर्दै आएका छन् । उनी आफैं गृहमन्त्रालयसहित सरकारको नेतृत्वमा जान तयार छन् ।

तर प्रधानमन्त्रीले कांग्रेसलाई अर्थ मन्त्रालय लिएर काम गर्न आग्रह गर्दै आएका छन् । तर खड्काको इच्छा गृहमा छ । खड्काले अर्थमा इच्छा नगरे कांग्रेसबाट डा प्रकशशरण महत अर्थमन्त्री बन्ने सम्भावना पनि उत्तिकै छ ।

माओवादीले अर्थ लिन माने गृहको जिम्मा खड्काले पाउने बताइएको छ । तर यस अघिदेखि नै गृहमा दाबी गरेका माओवादीका नारायणकाजी श्रेष्ठले फेरि पनि दाबी गरिरहेका छन् ।

१५ फागुनमा तत्कालीन साझेदार एमाले सरकारबाट बाहिरिएयता १६ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्डको काँधमा छन् । 

रवि लामिछानेको नागरिकता विवादपछि मन्त्री फिर्ता बोलाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि फेरि सरकारमा जान इच्छुक छ । 

माओवादी नेता देवेन्द्र पौडेलले रास्वपा पनि सरकारमा जान इच्छुक रहेको जानकारी दिए । ‘रास्वपालाई पनि प्रधानमन्त्रीले सरकारमा सहभागी गराउने तयारीमा हुनुहुन्छ’, उनले भने, ‘सरकारमा जाँदा दलको  हिस्सा अनुसारको मन्त्रालय दिने भन्ने छ ।’

यसअघि प्रचण्ड नेतृत्वको सरकारमा रास्वपाले गृह, शिक्षा, श्रम मन्त्रालय पाएको थियो । एक राज्यमन्त्री पनि उसको भागबण्डामा परेको थियो ।

तर यसपटक फेरि सरकारमा सहभागी भए रास्वपाले बढीमा २ वटा मात्रै मन्त्रालय पाउने बुझिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्