२२ असार २०८३, सोमबार

झापामा 'हात्तीमैत्री' सामूहिक खेती

झापामा 'हात्तीमैत्री' सामूहिक खेती
प्रतिकात्मक तस्वीर

जंगली हात्तीको क्षतिबाट आजित झापाको बाहुनडाँगीका किसानले हात्तीमैत्री अवधारणाअन्तर्गत सामूहिक खेती शुरूआत गरेका छन् ।

बालीमा गाईभैंसी र बाख्रालाई जस्तो हात्तीको प्रवेशलाई निषेध गर्न नसकेपछि हात्तीमैत्री अवधारणा प्रयोगमा ल्याइएको स्थानीयवासी बताउँछन् । 

मेचीनगर नगरपालिका–४ को प्रधानगाउँका ५० वर्ष उमेर नाघेका २६  किसानले हात्तीमैत्री किसान समूह गठन गरी अढाई बिघा जग्गा भाडामा लिएका छन् । सो जग्गामा किसानले तरकारी खेती लगाएका छन् । भर्खरै उनीहरूले आलु फलाएका छन् भने भिण्डी, टमाटर, घिरौला, बोडी, फर्सी, लौका, सिमरायोको साग लगायतका सब्जीको बिरुवा हुर्काइरहेका छन् ।

किसान समूहका अध्यक्ष देवीप्रसाद आचार्यका अनुसार खेतीका लागि हरेक सदस्यबाट ५ हजार रुपैयाँका दरले बीउ पुँजी संकलन गरिएको छ भने समूहलाई वडा कार्यालयले १ लाख ५० हजार अनुदान दिएको छ ।

‘हात्तीसँग दुश्मनी गरेर होइन, सहअस्तित्वलाई स्वीकार गरेर अब हामी मानव–हात्तीबीच मैत्रीपूर्ण वातावरण बनाउने प्रयासमा लागेका छौं,’ मेचीनगर–४ का अध्यक्ष अर्जुनकुमार कार्कीले भने, ‘हात्ती र मान्छेबीच खुनी संघर्ष भएको धेरै वर्ष भइसक्यो । धेरै मानिस र हात्तीले ज्यान गुमाएका छन् । अब दुवैले बाँच्ने वातावरण बनाउन जरुरी छ ।’

‘किसानको हात, वडाको साथ’ कार्यक्रमअन्तर्गत वडा कार्यालयले हात्तीमैत्री किसान समूह गठनलाई सामूहिक सब्जी खेतीमा प्रोत्साहित गरेको हो । वडाका विभिन्न टोलमा सामूहिक खेतीलाई विस्तार गर्ने र पालिकाबाट समेत अनुदान दिलाउने अभियानमा जुटिरहेको वडाध्यक्ष कार्की बताउँछन् ।

सब्जी खेती गर्न भाडामा लिइएको जग्गा वार्षिक ३५ हजार भाडा तिर्ने गरी १० वर्षका लागि लिइएको हात्तीमैत्री किसान समूहका अध्यक्ष आचार्यले बताए । किसानले जग्गा वरिपरि अहिले तरुल रोपेका छन् । बजारमा बिक्ने र हात्तीले भरसक नोक्सानी नगर्ने खालका तरकारी बालीको उत्पादनमा किसानले जोड दिएका छन् ।

हात्तीले नष्ट नगर्ने कोदो, तोरी, रहरी दाल, अदुवा, बेसार, पिडालुजस्ता तरकारीको खेतीमा किसान लागेका छन् । सामूहिक खेतीको बालीमा पसेर हात्तीले नष्ट गरिदिएमा सबै सब्जीको क्षतिपूर्ति दिलाउन पालिकाले सहयोग गर्ने वडाध्यक्ष कार्कीले बताए ।

‘हात्तीको क्षति रोक्न सकिँदैन भन्नेमा हामी लगभग सहमत भइसक्यौं,’ समूहका सदस्य एवं किसान धनपति गौतमले भने, ‘हात्तीले खाएर नष्ट गर्‍यो भने बीमाबाट क्षतिपूर्ति भराउँछौं । तरकारी बालीको बीमा गर्छाैं । जतिपटक हात्तीले खाएर बिगार गरे पनि हामी नोक्सानीमा पर्दैनौं ।’

नगरपालिका बैठकले हात्तीबाट किसानको बालीनाली क्षति भएमा क्षतिपूर्ति दिलाउन बाली बीमा गरिदिने निर्णय गरेको वडाध्यक्ष कार्कीले जानकारी दिए । मेचीनगरमा यस्तो बाली बीमा कार्यक्रम आगामी आर्थिक वर्षदेखि मात्र लागू हुने बताइएको छ ।

कृषि प्राविधिक करण अधिकारीले मानव–द्वन्द्वबाट झापामा सबैभन्दा बढी प्रभावित मानिएको बाहुनडाँगीमा स्थानीय किसानले शुरू गरेको सामूहिक खेती जिल्लाका अरु पालिकाका लागि अनुकरणीय बन्ने बताए । किसानले उत्पादन गरेका सब्जीको बजारीकरणमा समस्या भए स्थानीय सरकारले यसको जिम्मा लिनेसमेत वडाध्यक्ष कार्कीले आश्वासन दिए ।

salt training

कमेन्ट गर्नुहोस्