
विश्व फुटबलको पर्यायवाची र सदाबहार दाबेदार ब्राजिलका लागि उत्तर अमेरिकामा जारी २३औँ संस्करणको फिफा विश्वकप एउटा नयाँ इतिहास लेख्ने सुनौलो अवसर थियो। तर, मैदानमा इतिहास बनेन, बरु ब्राजिलको पुरानै नियति दोहोरियो ।
अन्तर्राष्ट्रिय फुटबलमा आफूले सामना गरेका ८८ वटा टोलीमध्ये केवल नर्वे एउटा यस्तो देश हो, जसलाई ब्राजिलले अहिलेसम्म कहिल्यै हराउन सकेको छैन । यस पटक विश्वकपको नकआउट चरणमा नर्वेलाई पन्छाउँदै २४ वर्षपछि छैटौँ तारा थप्ने र नर्वेविरुद्धको जितविहीन श्राप तोड्ने ब्राजिलको सपना थियो । तर, त्यो सपना न्यू जर्सीको मेटलाइफ स्टेडियममा एर्लिङ हालान्ड नामको आँधीमा उडेर गयो ।
नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल ३६ वर्षयताकै सबैभन्दा खराब प्रदर्शनसहित अन्तिम १६ बाटै घर फर्कन बाध्य भएको छ । २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले ब्राजिलमाथि ऐतिहासिक जित निकाल्दै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाउँदै ब्राजिलसँगको आफ्नो अपराजित यात्रालाई ५ खेल पुर्याएको छ ।
अर्थात्, ब्राजिलले नर्वेविरुद्ध पहिलो जित दर्ता गर्न अझै लामो प्रतीक्षा गर्नुपर्ने भएको छ। फुटबल इतिहासमा ब्राजिल ५० वटा राष्ट्रसँग कहिल्यै हारेको छैन, तर अचम्मको तथ्य के छ भने उसले नर्वेलाई भने कहिल्यै हराउन पनि सकेको छैन ।
सन् १९९४ मा अमेरिकामै विश्वकप जित्दा होस् या २००२ मा जापान र दक्षिण कोरियामा च्याम्पियन बन्दा, ब्राजिलले हरेक २४ वर्षको अन्तरालमा उपाधि दोहोर्याउने बलियो संयोग यस पटक पनि बन्ने धेरैको अनुमान थियो । तर, २००२ यता विश्वकपको फाइनलसम्म पनि पुग्न नसकेको ब्राजिलले यस पटक झन् खराब कीर्तिमान खडा गर्यो ।
सन् १९९० को इटली विश्वकपमा अर्जेन्टिनासँग १-० ले पराजित भएर अन्तिम १६ बाट बाहिरिएयता ब्राजिल कहिल्यै पनि क्वार्टरफाइनल अघि रोकिएको थिएन । ३६ वर्षपछि ब्राजिलले फिफा विश्वकपको इतिहासमा तेस्रो पटक मात्र अन्तिम १६ को खेल हार्ने यस्तो निराशाजनक नियति बेहोरेको हो ।
यो विश्वकपमा ब्राजिलको यात्रा सुरुदेखि नै उतारचढावले भरिएको थियो। समूह 'सी' को पहिलो खेलमै मोरक्कोसँग १-० ले पछि परेर १-१ को बराबरी खेलेको ब्राजिलले हाइटी र स्कटल्याण्डलाई पराजित गर्दै समूह विजेता बनेको थियो । राउण्ड अफ ३२ मा पनि जापानविरुद्ध पहिलो हाफमा पछि परेको ब्राजिलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै २-१ को जित निकालेको थियो । तर, नर्वेविरुद्धको खेलमा भने शुरूआती अवसरहरू गुमाउँदा ब्राजिलले ठुलो मूल्य चुकाउनुपर्यो।
खेलको १४औँ मिनेटमै ब्राजिलले अग्रता लिने सुवर्ण अवसर पाएको थियो, तर ब्रुनो गुमाएरेजको पेनाल्टी प्रहारलाई नर्वेका गोलकिपर नाएल्यान्डले उत्कृष्ट बचाउ गरिदिए।
शुरूआती समयमा ब्राजिलियन डिफेन्डरहरूले विश्व फुटबलकै घातक स्ट्राइकर एर्लिङ हालान्डलाई रोक्न सफल भए पनि खेलको अन्तिम समयमा भने उनी नै नायक बने। खेलको ७९औँ मिनेटमा हालान्डले सानदार गोल गर्दै नर्वेलाई अग्रता दिलाए।
ब्राजिल बराबरी गोलका लागि सङ्घर्ष गरिरहेकै बेला ९०औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि ब्राजिल खेलमा २-० ले पछि पर्यो। इन्जुरी समयमा ब्राजिलले पुनः पेनाल्टी पायो र नेयमारले त्यसलाई गोलमा परिणत गरे पनि त्यो ढिला भइसकेको थियो।
२–१ को यो हारसँगै ब्राजिल विश्वकपबाट मात्र बाहिरिएन, देशका लागि सर्वाधिक ८० गोल गरेका स्टार खेलाडी नेयमारले पनि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरे। इतिहास बदल्न मैदान उत्रिएको ब्राजिल पुरानै हारको इतिहास दोहोर्याउँदै, आँसु र निराशाका साथ विश्वकपबाट बिदा हुन पुग्यो।