
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकले यतिखेर विभिन्न सुरक्षा चुनौतीको सामना गर्नु परिरहेको बताएका छन् ।
राष्ट्रिय सुरक्षा तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भू-राजनीतिक अवस्थिति, शक्ति राष्ट्रको सामरिक शक्तिको बढोत्तरी, प्रतिस्पर्धा एवं प्रभाव, सीमा विवाद, जलवायु परिवर्तन, राजनीतिक जटिलता, पृथकतावादी आन्दोलनदेखि खुला सीमासम्मका समस्या भोग्नुपरिरहेको बताएका हुन् ।
प्रचण्डले भने, ‘यसको प्रतिवाद एवं समाधानका लागि राष्ट्रिय शक्तिका मुख्य तत्वहरूः राजनीतिक, अर्थतन्त्र, कुटनीति, सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन श्रोतले सम्पन्न गराउँदै समन्वय र सहकार्यको माध्यमबाट उचित ढंगबाट राष्ट्रिय हितमा प्रयोग गरी त्यस्ता चुनौतीहरूको डटेर सामना गर्न हामी सक्षम छौं भन्ने मैले विश्वास लिएको छु। यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने पनि म विश्वास दिलाउँछु।’
परिवर्तित परिस्थितिमा राष्ट्रिय सुरक्षा नीतिको सही मूल्याङ्कन, अध्ययन र विश्लेषण गर्नु अत्यन्तै जरुरी रहेको प्रधानमन्त्रीको भनाइ छ ।