
नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधि सभा नियमावलीमार्फत सभामुखको अधिकारलाई कुण्ठित गर्न खोजे संसदको प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताएका छन्।
सचेतक बर्तौलाले प्रतिनिधि सभाका सभामुख सभाको नेता भएको भन्दै उनलाई सिंगो संसदले विश्वास गर्नुपर्ने बताए।
उनले प्रतिनिधि सभा नियमावलीमा सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराउनु उनीहरूको सार्वभौम अधिकारको कुरा भए पनि सबैले सभामुखप्रति विश्वास गर्नुपर्नेमा जोड दिए।
मंगलबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले सभामुख सभाको रेफ्री भएको भन्दै रेफ्रीले कतिबेला सिठी बजाउने भन्ने कुरा कतै भएको निर्णयबाट निर्देशित भएर गर्नु नहुने बताए।
उनले सभामुखले कार्यव्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभा सञ्चालन गर्ने व्यवस्था भए संसदको प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताए।
उनले त्यसो भए संसदीय मूल्य, मान्यता र गरिमा नरहने पनि बताए।
सचेतक बर्तौलाले सभामुखले तटस्थ भूमिका निर्वाह गर्न नसकेमा त्यसको उपचार खोज्ने व्यवस्था नियमावलीमा नै रहेको उल्लेख गरे।
नियमावली बनाउने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षको छाया पार्नु नहुने पनि उनले बताए। कार्यव्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभामुख अगाडि बढ्दा संसद गतिहीन हुनसक्ने र अवरोधहरूको जञ्जालमा पर्नसक्ने उनको भनाइ थियो।