
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी अन्जन श्रेष्ठले बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदरमा २० प्रतिशतभन्दा धेरै नाफा खाएका बताएका छन्।
लुम्बिनी प्रदेशको कपिलवस्तुस्थित चन्द्रौटामा आयोजित 'लथालिङ्ग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन विषयक' कार्यक्रममा उनले अहिले अर्थतन्त्र समस्यामा भएको भन्दै यसलाई सुधार गर्न सरकारले तत्काल ध्यान दिनुपर्ने बताए।
सरकारी खर्च कम हुँदा बजारमा तरलता अभाव भएको र उद्योग व्यवसाय नै धराशायी हुँदा पुँजी निर्माण गर्न कठिन भएको श्रेष्ठले बताए।
बैंकले उद्योगीहरूसँग लिएको प्रिमियम ब्याजदर ज्यादै धेरै भएको भन्दै त्यसलाई तत्काल घटाउन उनले माग गरे।
'उद्योगी व्यवसायीलाई नाफामा २० प्रतिशतभन्दा धेरै लिन नपाइने भन्दै दशकौं पुरानो कालाबजारी ऐन कानून लागु गरेर दुख दिइन्छ, तर बैंकले ब्याजदरमा ६० प्रतिशतसम्म प्रिमियम लिँदा सरकार र नियामकले वास्ता गर्दैनन्,' वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी श्रेष्ठले भने।
निजी क्षेत्रले अर्थतन्त्रमा उच्च योगदान दिएको र भूमिका बढिरहेको बेलामा निजी क्षेत्रले अधिकार खोसेरै लिनुपर्ने अवस्था देखिएको उनको भनाइ थियो।
आफूले लुम्बिनी प्रदेशमा लगानी बिस्तार गरिरहेको भन्दै पूर्वाधार क्षेत्रमा लगानी गरेको र अटोमोबाइल एसेम्बली उद्योग स्थापना गर्ने योजनामा रहेको श्रेष्ठले जानकारी दिए।
श्रेष्ठले महासंघमा आफूले लामो समयदेखि योगदान दिएको भन्दै अब आफूले नेतृत्व गर्ने पालो आएको बताए।