१० साउन २०८३, आइतबार
प्रमुख प्रतिपक्षी नेताको आरोप

प्रचण्ड र शेरबहादुरले देशको भूगोल खुम्च्याए- केपी ओली

प्रचण्ड र शेरबहादुरले देशको भूगोल खुम्च्याए- केपी ओली
फाइल तस्वीर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएपछि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले देशको भूगोल घटाएको आरोप लगाएका छन् ।

देउवा र प्रचण्डले आफ्नो भूभाग नदेखेझैँ गरेको ओलीको आरोप छ । 

पाल्पाको तानसेन माडी आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशको भूगोलको रक्षा गर्नुपर्नेमा सरकारको नेतृत्व गर्नेहरूले देखेको नदेखैझैँ गरेको आरोप लगाएका हुन् ।

‘नेकपा एमालेलाई काम गर्न दिइएन, त्यसपछि देशको भूगोल सानो भयो । मैले प्रधानमन्त्रीबाट छाड्दा जत्रो देश थियो, प्रचण्ड शेरबहादुरले अलिकति खुम्च्याए । उनीहरूले आफ्नो भूभाग नदेखेझैँ गरे’, ओलीले भने, ‘हो र ! मैले त देखिनँ । कस्तो दलाली, कस्तो चाकडी ? देश मिचिएको रक्षा गर्ने कर्तव्य सरकारमा बस्नेको हो ।’

आफूले यति बोलेबापत गठबन्धनका नेताहरू टिकट काटेर कुरा लगाउन जाने ओलीले टिप्पणी गरे । ‘मैले यति बोलेपछि भोलि कुम्लो कुटुरो बोकेर टिकट काटेर कुरा लगाउन जान्छन् । हजुर ! केपी ओलीले पाल्पामा पुगेर भूगोलको कुरा गर्‍यो त्यसलाई आउन दिनहुन्न भन्छन्’, ओलीले भने। 

आफूले चुच्चे नक्सा र देशको भूगोलमा कालापानी र लिम्पियाधुरा समावेश गरेको जस लिएका उनी आफू प्रधानमन्त्रीबाट हटेपछि त्यसको रक्षा गर्न नसकेको भन्दै देउवा र प्रचण्डप्रति खनिएका थिए। 

कुरा लगाए पनि ओलीले फेरि प्रधानमन्त्री बन्ने रहर नभएको बताए । ‘प्रधानमन्त्री बन्ने अब कुनै रहर छैन, म बनिसकेँ, काम गरेर देखाइसकेँ । प्रधानमन्त्री बन्न नपाएको होइन, तपाईंहरूले बनाउनुभयो । तपाईंहरूले अत्यन्त माया गर्नुभएको छ । मलाइ पुगेको छ’, ओलीले भने । 

तर, देश त जोगिनुपर्‍यो नि, सरकारमा जाने देशबारे बोल्न नसक्ने । १० तिर फर्केका १० वटा मुख, देशबारे किन कोही बोल्दैन ? 
 

salt training

कमेन्ट गर्नुहोस्