
बागलुङको निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमा रकम भुक्तानी नगर्दा स्थानीय वासिन्दा स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् ।
गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले १ हजार ८३८ जनाको फागुन महिनादेखि लागू हुने गरी स्वास्थ्य बीमा गरे पनि गाउँपालिकाले समयमै भुक्तानी नगर्दा समस्या भएको हो ।
निसीखोला–१ किटेनीका वीरबहादुर विक गत फागुन २५ गते जाँचका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र पुगे । गाउँपालिकाले फागुनदेखि लागू हुन्छ भनेर दिएको स्वास्थ्य बीमा परिचयपत्र साथमै बोकेर गएका विकलाई स्वास्थ्य केन्द्रले बीमा योजना लागू नभएको भन्दै पूर्ण शुल्क तिरेमात्र उपचार हुने बतायो । उनले उपचारका क्रममा लागेको सम्पूर्ण रकम तिरेर घर फर्किनुपर्यो ।
विक मात्र होइन, यतिबेला निसीखोलाले फागुनदेखि लागू हुने गरी बीमा गरेका स्थानीय सुविधाबाट वञ्चित छन् । गाउँपालिकाले बीमा गरिदिए पनि रकम समयमै भुक्तानी नगरेका कारण उनीहरू सेवाबाट वञ्चित भएका हुन् ।
गत असारमा सम्पन्न दशौं गाउँसभाले गाउँपालिकाका सम्पूर्ण नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको थियो । सोहीअनुसार गाउँपालिकाले ५ हजार ४०० परिवारका लागि राजस्व बाँडफाँटबाट २ करोड विनियोजन गरेको थियो ।