
कीर्तिमानी आरोही फुर्वातेन्जिङ शेर्पा इटालीको ‘ग्रान सासो एण्ड मोन्टी डेल्ला नेशनल पार्क’को सदभावनादूत नियुक्त भएका छन् ।
आरोही शेर्पालाई पार्कका अध्यक्ष तमासो नभारोले आज काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच सदभावनादूतको नियुक्तिपत्र हस्तान्तरण गरे । ग्रान पार्क युरोपको ठूलो र प्रसिद्ध पार्क मानिन्छ । उक्त पार्कले जैविक संरक्षण र पर्यावरण सन्तुलनमा महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।
दोलखा गौरीशङ्करको रोलवालिङका फुर्वातेञ्जिङ शेर्पाले १५ पटक सगरमाथा आरोहण गर्नुका साथै सबैभन्दा छिटो तीन दिनमा दुईपटक सगरमाथा आरोहण, बिना अक्सिजन दुईपटक सगरमाथा आरोहण र कम उमेरमा (२४ वर्षको उमेरमा नौपटक) सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् ।
सो अवसरमा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कीर्तिमानी आरोही फुर्वातेन्जिङ शेर्पाले साहसिक काम गरेर विश्वभर पहिचान कमाउनुका साथै सोही कारण इटालीको नेशनल पार्कले सदभावनादूत बनाउनु नेपालका लागि निकै गौरवको विषय भएको बताए ।