०६ असार २०८३, शनिबार

पर्यटन प्रवर्द्धन गर्न सडक खाना महोत्सव हुने

पर्यटन प्रवर्द्धन गर्न सडक खाना महोत्सव हुने

बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ ।

तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ, रेबान तनहुँको संयुक्त आयोजनामा चैत ३० गतेदेखि शुरू हुने महोत्सव आगामी वैशाख २ गतेसम्म जारी रहने छ । 

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले ‘सडकमा खाऔं, सडकमै रमाऔं, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित सडक खाना महोत्सव आयोजना गर्न लागिएको बताए ।

‘बन्दीपुरको पर्यटन बिस्तारै लयमा फर्किंदैछ, नयाँ वर्षमा आयोजना गरिने सडक खाना महोत्सवले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिएका छौं,’ उनले भने ।

सडक खाना महोत्सवका दिन बजारमा रहेका होटल अगाडि नै बसेर पर्यटकले खान पाउनेछन् । ‘३ दिनसम्म नै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ, विभिन्न जातजातिका संस्कृति प्रदर्शन गरिनेछ,’ अध्यक्ष प्रधानले भने ।

नयाँ वर्षमा जिल्लाका युवायुवती पोखरा, चितवन जाने गरेकाले आफ्नै जिल्लाभित्र रमाउने वातावरण सिर्जना गर्न महोत्सव आयोजना गरिएको र यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट विदेशी पर्यटक आउने गरेका छन् ।

विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको होटल व्यवसायी वैश गुरुङले जानकारी दिए ।

सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृंखला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धवलागिरि लगायतका हिमशृंखला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ । 

बन्दीपुरमा होटल संघसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेल लगायत होटल सञ्चालन छ । 

भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले पनि पहल गरिरहेको छ । बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन विभिन्न पूर्वाधार निर्माण गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्