
बुटवल बजार क्षेत्रको सडक बेहाल भएको ६ वर्ष पुग्यो, तर अझै बन्न सकेको छैन । ‘फोर लेन’ को सडकलाई १७ चैत २०७३ मा ‘सिक्स लेन’ विस्तार गर्ने ठेक्का सम्झौता भएको थियो ।
सडक निर्माणमा गरिएको राजनीति र ठेकेदारको लापवाहीका कारण अहिले बुटवल कुरूप बनेको छ । बुटवलको ‘मुटु’ मुख्य बजार क्षेत्रको साढे तीन किलोमिटर सडक भत्काएर ठेकेदारले जहाँको त्यहीँ छाड्दा ठूला व्यापारी पलायन भएका छन् । नेपालको सडक निर्माण कार्यको गति र प्रकृति कस्तो छ भनेर थाहा पाउन बुटवलको निर्माणाधीन सडकलाई नियाले पुग्छ ।
सडक धुलाम्मे/हिलाम्मे हुँदा बुटवलको व्यापार व्यवसायमा ठूलो प्रभाव परेको छ । धूलोले नागरिकको स्वास्थ्यमा असर परेको छ भने व्यवसाय शून्यजस्तै रहेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू बताउँछन् ।
‘सधैं गुल्जार रहने बुटवल बजार सडक विस्तारका लागि डोजर चलाएपछि सुनसान मात्र बनेको छैन, धेरै व्यवसायी विस्थापित भएका छन्,’ अध्यक्ष कसजूले भने ।
सडक डिभिजन कार्यालय बुटवलका अनुसार सडक निर्माणको काम वि.सं. २०७६ असोजमा सकिनुपर्ने हो । यो सडक स्थानीय निर्वाचनका बेला कसैलाई भोट माग्ने र कसैलाई भोट घटाउने अस्त्र बनेको थियो ।
सडकमा गिट्टी बिच्छ्याएर दुर्दशा देखाइएको छ । बुटवलका प्रमुख खेलराज पाण्डे र उपप्रमुख सावित्रादेवी अर्यालले सडकमा आएर छिटो काम सक्न निर्देशन दिँदै हिँडे पनि सडक अहिलेसम्म उस्तै छ । डिभिजन कार्यालयका अनुसार अहिलेसम्म सडकको भौतिक प्रगति ३० प्रतिशत पनि हुन सकेको छैन ।

सडक निर्माणका नाममा बाटो ‘वान–वे’ बनाउँदा दुर्घटना समेत बढाएको छ । शुरूआती चरणमा अदालती मुद्दा मामिलाले सडक निर्माणमा अवरोध सिर्जना गरियो । बुटवलका व्यवसायीहरू सडकमा परेको संरचना भत्काउन अटेर गरी अदालत पुगे । लाखौं चन्दा उठाएर मुद्दा मामिलामा जुटे पनि उनीहरूको पक्षमा फैसला भएन । अन्ततः अतिक्रमित क्षेत्रमा बनेका घरहरू डोजर चलाएर भत्काइयो भने केही घरधनी आफैंले भत्काए ।
अदालतको अन्तिम फैसलापछि सडक निर्माण थालनी भयो । तर, राजनीतिक दाउपेचले सडक निर्माण रोक्ने र अघि बढाउने कार्य भए । सडक निर्माणमाथि भएको अराजनीतिक खेलले बुटवल शहर नै कुरूप बन्दै गएको छ । निर्माण कम्पनी द कञ्जनजंगा–बिरुवा जेभीले पछिल्लोपटक म्याद थपको मौका पाउँदै आगामी असारसम्म निर्माण सक्ने जनाएको छ । तर, सडक निर्माण कार्य सकिने अवस्था भने देखिँदैन ।
सडक डिभिजन कार्यालय बुटवलले केही समयअघि किन ठेक्का नतोड्ने ? भन्ने सार्वजनिक सूचना समेत जारी गरेको थियो । त्यसयता फेरि म्याद थप भई असारसम्मको मौका निर्माण कम्पनीले पाएको छ ।
सडक डिभिजन बुटवलका प्रमुख इन्जिनीयर होमबहादुर एमसीले सडक निर्माणका लागि कम्पनीसँग लिखित प्रतिबद्धता गराइएको बताए ।
‘निर्माण कार्यलाई तीव्रता दिने हो भने तोकिएको समयमा सक्ने स्थिति छ,’ एमसीले भने, ‘असारसम्म निर्माणको काम नसके कानूनी प्रक्रियामा जान्छौं ।’
सार्वजनिक खरिद ऐनअनुसार सडक विभागले धरौटी जफत गरेर ठेक्का रद्द गर्न सक्नेछ । यद्यपि ठेक्का रद्द गर्दा सरकारको लागत झन् बढ्ने भएकाले निर्माणलाई नै अघि बढाउने रणनीति डिभिजन कार्यालयहरूले अपनाउने गरेका छन् ।

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणका लागि कम्पनीले ५३ करोड ९७ लाख ९९ हजार रूपैयाँमा ठेक्का लगाएको थियो ।
कम्पनीले हालसम्म १३ करोडभन्दा बढी रकम भुक्तानी लिइसकेको प्रमुख एमसीले जानकारी दिए ।
यता निर्माण कम्पनीले भने हालसम्म गरेको कामको भुक्तानी समयमा पाउन नसक्दा कामले गति लिन नसकेको जिकिर गरेको छ ।
पछिल्लो कामको भुक्तानी बेलहिया–बुटवल खण्डको र राजमार्ग, चौराहा–गोलपार्कको गरी करिब ६ करोड बढी बाँकी रहेको डिभिजन प्रमुख एमसीले बताए । केही कानूनी प्रक्रियाका कारण भुक्तानी ढिलो भएको तर, केही दिनमै भुक्तानी हुने प्रक्रियामा रहेको उनले बताए ।
सडक विस्तारका लागि घर भत्काउन थालेपछि बुटवलको मुख्य व्यावसायिक केन्द्र ट्राफिक चोकमा ‘फेन्सी’ पसल गर्दै आएका वासुदेव बस्याल पसल बन्द गरेर विस्थापित भए । बुटवलकै अर्को महत्वपूर्ण व्यापारिक केन्द्र राजमार्ग चौराहामा व्यापार गर्ने सुजन श्रेष्ठ सडककै कारण अप्ठ्यारोमा छन् ।

उनले पनि व्यवसायीलाई बैंकको चर्को ब्याजदर, चर्को घरभाडा र सडक विस्तारको कामले व्यवसायमा अवरोधजस्ता कारणले कैयन व्यवसायी विस्थापित भएको र यो अवस्था बढ्दै गएको बताए ।
ठेक्का सम्झौता भएदेखि शुरूमा सडक किनारामा बनेका घर र जग्गा धनी आफूहरूले क्षतिपूर्ति पाउनुपर्ने मागसहित कानूनी उपचारको खोजीमा जाँदा लामो समयसम्म सडक विस्तारको काम रोकिएको थियो तर निर्माण कम्पनीले त्यसबेला पनि कानूनी विवादको बहानमा विवाद नभएको क्षेत्रमा समेत काम अगाडि बढाएको थिएन ।
बुटवल मात्र होइन, यस कम्पनीले बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत तीनवटा ठेक्का लिएकोमा तीनवटै काम पूरा नगरेको सडक कार्यालयले जनाएको छ ।
यही कारण आर्थिक वर्ष २०६८/६९ मा शुरू भएको सडक अलपत्र छ । बरू नसकिँदै सडक विभिन्न ठाउँमा भासिन र भत्किन थालेको छ ।