
काठमाडौं, १४ भदौ – पूर्वराजा ज्ञानेन्द्र शाह सोह्रा श्राद्धको तिथि अगावै १६ गते बैंककबाट फर्किंदैछन् । अब तिहारसम्म कतै नजाने गरी आउन लागेका उनले एक हप्तापछि शुरु हुने सोह्रश्राद्ध अन्तर्गत तीनजनाको पिण्डदान गर्नुपर्नेछ ।
स्रोतका अनुसार आमा रत्नराज्य बस्दै आएको नारायणहिटीस्थित महेन्द्र मञ्जिलमा बाबु महेन्द्र, दाजु विरेन्द्र र भाइ धीरेन्द्रको पिण्ड तीन फरक तीथिमा दान गर्नुपर्नेछ । सो क्रम २०५९ सालदेखि शुरु भएको हो । शाही परम्परा अनुसार राजाका रुपमा गद्दीसीन रहेको बेलामा यस्ता धार्मिक औपतारिकता पूरा गरिरहनु पर्दैन ।
तर राजकाज नचलाएको बेला भने पितृहरुको नाममा वर्षेनी श्राद्ध गर्ने, तर्पण दिने जस्ता काम गर्न मिल्छ । उनी राजा रहुञ्जेल यी तीन श्राद्ध डिल्लिबजार स्थित बडागुरुज्यूहरुको घरमै सम्पन्न हुन्थ्यो ।
अहिले पनि डिल्लीबजारका पाण्डेहरु पूर्वराजपरिवारका बडागुरुज्यूकै उपाधीमा छन् । तर स्वयम ज्ञानेन्द्रमाथि सरकारी लगानी नरहेको बेला ती गुरुजइू खलकले सरकारी कोषबाट पाउँदै आएको भत्ता पाउने कुरै भएन ।
पुस्तौंदेखि दरबारको सेवा गर्दै आएका बडागुरुज्यू खलकका सदस्यहरु अहिले पनि पूर्वराजाका हेरक धार्मिक कार्यक्रममा पुरोहितकै भूमिकामा जाने गरेका छन् । यो खबर आजको जनआस्था साप्ताहिकमा छ ।
शाही परम्परामा दरबारभित्र श्राद्ध गरिँदैन । तर अहिले नारायणहिटी दरबार नभई सरकारी स्वामित्वको संग्राहलय र महेन्द्र मञ्जिल स्थायी बसोबास गर्ने ठाउँ बनेपछि त्यहाँ गरिने धार्मिक क्रियाकलापहरु खोलिएको हो ।