
भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक तीनदिने भ्रमणका क्रममा सोमवार भारत पुगेका छन् ।
केही दिनअघि भुटानका प्रधानमन्त्री लोटे छिरिङले चीन सीमाका विषयमा बेल्जियमको पत्रिकालाई दिएको बयानका कारण भारतमा आक्रोश फैलिएको छ ।
त्यसलाई मत्थर बनाउनका लागि भुटानका राजाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु र विदेशमन्त्री एस जयशंकरसँग भेटघाट गर्नेछन् ।
राजा जिग्मेसँग भुटानका परराष्ट्रमन्त्री टान्डी दोर्जी र शाही सरकारका वरिष्ठ अधिकारी पनि भारत गएका छन् ।
भुटानका प्रधानमन्त्रीले बेल्जियमको पत्रिका ला लिब्रेलाई अन्तर्वार्ता दिँदै चीनले भुटानभित्र कुनै गाउँ नबनाएको बताए । सन् २०२० मा आएको रिपोर्टअनुसार, डोक्लामभन्दा नौ किलोमिटर पूर्वतर्फ चीनले भुटानी क्षेत्रमा गाउँ बनाएको छ ।
डोक्लाम विवादको समाधान भुटान एक्लैले गर्न नसक्ने र चीनको धारणा पनि यसमा महत्त्वपूर्ण हुने छिरिङले बताएका थिए ।
पछि भुटानको स्थानीय पत्रिका द भुटनिजलाई अन्तर्वार्ता दिँदै छिरिङले स्पष्टीकरण पेश गरे । डोक्लामका विषयमा भुटानको दृष्टिकोणमा कुनै परिवर्तन नआएको उनको भनाइ छ ।