२१ जेठ २०८३, बिहीबार

भावी पुस्ताको भविष्य सुरक्षित गर्न मेरो उम्मेदवारी- रवि लामिछाने

भावी पुस्ताको भविष्य सुरक्षित गर्न मेरो उम्मेदवारी- रवि लामिछाने
फाइल तस्वीर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। 

सोमवार सभापति लामिछानेले चितवनको निर्वाचन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

सभापति लामिछाने गत मंसिर ४ गते भएको संसदीय निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाटै भारी मतले विजयी भएका थिए।

सर्वोच्च अदालतमा नागरिकता मुद्दामा अदालतले नागरिकता अवैध ठहर गरेसँगै चितवन निर्वाचन क्षेत्र नम्बर २ रिक्त थियो ।

उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उम्मेदवार लामिछानेले आफ्नो उम्मेदवारी भावी पुस्ताको भविष्य सुरक्षित गर्न, राजनीतिमा शुद्धता ल्याउन, नेपालमा नै रोजगारी सिर्जना गर्न रहेको बताए। 

उनले आफूले यस पटक पनि जित्ने पूर्ण विश्वास रहेको भन्दै अन्तिमसम्म नतिजा कुर्नुपर्ने बताए। 

तपाईको कारणले दोस्रो पटक राज्यलाई निर्वाचन गराउँदा आर्थिक भार पर्‍यो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफ्नो भागमा पर्ने भार आफू लिन तयार रहेको बताए। 

गत मंसिरमा भएको निर्वाचनमा लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए।

लामिछानेले ४९ हजार २६१ मत, श्रेष्ठले १५ हजार ९९ मत र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत प्राप्त गरेका थिए। 

salt training

कमेन्ट गर्नुहोस्